सर्लाहीको हरिपुर्वा र चन्द्रनगरका शिक्षकहरु आन्दोलीत,तलब नपाउन्जेल आन्दोलन गर्ने घोषणा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१ गते   ३८८ पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिका भित्रका १६ वटा विद्यालयका शिक्षकहरु आन्दोलीत भएका छन् । आलु आर्थिक वर्षको साउनदेखि तलब नपाएको भन्दै नगरपालिका भित्रका १६ वटै सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलीत भएका हुन । उनिहरुले जब सम्म आफ्नो तलब प्राप्त हुन्न तब सम्म आफ्नो आन्दोलन निरन्तर चलि रहने भन्दै आईतबारबाट नगरपालिका कार्यालय परिसरमा धर्ना समेत दिन सुरु गरेका छन् ।
आफुहरुले चरणवद्ध आन्दोलन अन्तर्गत आइतबारदेखि नगरपालिकाको कार्यालय परिसरमा धर्ना सुरु गरेको केश्वर गरिब जनता मावि हरिपुर्वा ५ का प्रधानाध्यापक संजय कुमार यादवले बताए ।उनका अनुसार हरिपुर्वा नगरपालिका भित्रका १६ वटै सामुदायिक विद्यालयका शिक्षकहरुले चालू आर्थिक वर्षको साउनदेखि नै तलब पाएका छैनन् ।
तलब नपाउँदा शिक्षकको महान चाड दशैँ खल्लो भयो । तीहार र छठमा पनि यही अवस्था आउने छाट देखिएपछि आफुहरु आन्दोलीत भएको आन्दोलीत शिक्षकहरुले बताएका छन् ।उनिहरुले पठनपाठन बन्द गरी विद्यालयमा तालाबन्दी गरेर नगरपालिका कार्यालयमा पुगी धर्ना सुरु गरेका छन् ।
हरिपूर्वा नगरपालिका भित्र १६ वटा सामुदायिक विद्यालय रहेका छन् । जनप्रतिनिधिबीचको राजनीतिक द्वन्द्वका कारण आफूहरुले तलब नपाएको उनिहरुको गुनासो छ । सोमवार हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद साह तेली र विपक्षी वडाध्यक्षबीच आन्दोलित शिक्षक समेतको उपस्थितिमा छलफल भएपनि निष्कर्ष निस्कन नसकेको हरिपुर्वा नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । 
नगरपालिकाले कार्यपालिका बैठक राख्ने तयारी गरेको नगर प्रमुख साहले बताए । नगरकार्यपालिका बसेपनि आफुहरुले तलब पाउने आधार नरहेको शिक्षकहरुले बताए । जनप्रतिनिधिले आ–आफ्नो स्वार्थ पूरा नहुँदा बजेट पारित नगरेकै कारण आफूहरुले तलब नपाएको शिक्षकहरुको गुनासो छ । त्यहाँ शिक्षा,स्वास्थ्य,कृषि,पशुसेवा शाखाका कर्मचारीहरुले पनि तलब पाएका छैनन् भने आर्थिक कारोवार नै नहुँदा नगरका विकासका काम ठप्प छन् ।
जिल्लाको विष्णु गाउँपालिकामा पनि गाउँ सभाले बजेट पास नगर्दा शिक्षक–कर्मचारीले तलब पाएका छैनन् । पालिका प्रमुख अल्पमतमा हुँदा हरिपूर्वा र विष्णुमा नगर तथा गाउँसभा गरी बजेट पारित हुन सकेको छैन् । भागबण्डामा कुरा नमिल्दा यस्तो अवस्था आएको स्थानीय जानकारहरु बताउँछन् ।यस्तै, जिल्लाको चन्द्रनगर गाउँपालिकामा पनि  शिक्षकहरुलाई तलब नखुवाएका कारण शिक्षाहरु आन्दोलनमा उत्रिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech