नेपाल–भारत सीमा नाका स्थित मधेशका नाकाहरुमा सशस्त्र प्रहरी कै मिलेमतोमा तस्करी हुने गरेको रहस्य फेला परेको छ।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) सरमुजवा रौतहका सशस्त्र प्रहरी निरीक्षक गणेश बोहरा र एक तस्कर वीचको फोन सम्वादको अडियो बाहिरिएपछि सशस्त्र प्रहरी कै मिलेमतोमा नेपाल–भारत सीमा नाका स्थित मधेशका नाकाहरुमा तस्करी हुने गरेको रहस्य फेला परेको हो ।
तस्करसंगको फोन सम्वादको अडियो बाहिरिएपछि बिओपी सरमुजवाका बिओपी पति एवम सशस्त्र प्रहरी निरीक्षक बोहरा अनुसन्धानका लागि सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबास मधेश प्रदेश तानिएका छन् भने सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) छतौना सर्लाहीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार तिलक बहादुर पुन निलम्बनमा परेपछि बाहिनी पतिलाई गुम्राहमा राखेर मातहतका बिओपी तथा वेशहरु र गुल्महरुले तस्करसंग मिलेर असुली चलाउने गरेका समेत खुलेको छ ।

फोन सम्वाद अडियो सार्वजनिक भएसँगै घटनाको छानबिन,अडियोको फरेन्सिक परीक्षण तथा सत्यतथ्य सार्वजनिक गर्न स्थानीयले माग समेत गरेका छन्।मधेशका सीमामा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै शंकास्पद गतिविधिमा संलग्न सशस्त्र प्रहरी कर्मचारीमाथि कठोर कारबाही गर्ने नीति अपनाएको छिन्नमस्ता बाहिनीका बाहिनी पति एवम डीआईजी विष्णु प्रसाद भट्टले बताए ।
उनका अनुसार ड्युटीकै क्रममा भारततर्फ मदिरा बोकेको पिकअप तस्करको मिलेमतोमा पास गराएको प्रमाण भेटिएपछि बिओपी छतौनामा कार्यतर सशस्त्र प्रहरी हबल्दार पुनलाई निलम्बन गरिएको र तस्करसंग फोन सम्वाद गरी तस्करीमा सहयोग पुर्याएका कारण बिओपी सरमुजवाका सशस्त्र प्रहरी निरीक्षक बोहरालाई बाहिनी तानेर अनुसन्धान सुरु गरिएको हो ।

पछिल्लो समय तस्करी नियन्त्रणमा कडाइ गर्दै शंकास्पद गतिविधिमा संलग्न देखिएका प्रहरी कर्मचारीमाथि निर्मम कारबाही गर्ने नीति अपनाएका छिन्नमस्ता बाहिनीपति एवम डीआईजी भट्टले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)मधुवनीका बिओपी पति एवम सशस्त्र प्रहरी निरीक्षक माधव खत्री र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)छतौनाका बिओपी पति एवम सशस्त्र प्रहरी निरीक्षक मिलन कार्कीलाई छिन्नमस्ता बाहिनी तानेर प्रारम्भीक अनुसन्धान गरी पुनःजिम्मेवारीमा फर्काएका थिए।उनीहरुलाई सोही क्षेत्रबाट असार ११ गते सशस्त्र प्रहरी मुख्यालयको निर्देशनमा करिब रु एक करोड नौ लाख बराबरको फर्सीको बीउ तथा पाँचवटा सवारीसाधन नियन्त्रणमा लिइएको विषयमा प्रारम्भीक अनुसन्धान गरिएको थियो ।
सीमावर्ती बजारबाट व्यक्तिगत प्रयोजनका सामान ल्याउने सर्वसाधारणमाथि कडाइ गरेर दुःख दिने सशस्त्र प्रहरी संगठित तस्करी गर्ने समूहसँग मिलेर निर्बाध रूपमा तस्करीमा सक्रिय रहेको आरोप लाग्ने गरेको छ।मधेशका जिल्लाहरुका चार सय ६४ किलो मिटर नेपाल–भारत सीमानाकामा हरेक चार किलो मिटरको दुरीमा बिओपी तथा गुल्महरु छन्।आठै जिल्लाका गण,गुल्म तथा बेशहरु र बिओपीहरु गरि करिब चार दर्जन सशस्त्र प्रहरीका युनिटहरु रहेका भएपनि तस्करी र राजस्व चुहावट नियन्त्रण हुन नसक्नुले सुरक्षा रणनीतिको प्रभावकारिता माथि प्रश्न उठेको छ ।
जसका कारण सुरक्षा निकायको कथित साँठगाँठकै कारण राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको छ।सीमामा प्रभावकारी निगरानी र जवाफदेहिता कमजोर हुँदा तस्करी नियन्त्रणको सरकारी दाबी व्यवहारमा प्रभावकारी देखिन नसकेको जनाकारहरु बताउँछन् ।