नेपालीहरूको महान चाड दशैं नजिकिँदै गर्दा सिन्धुलीका बजारहरूमा चहल पहल बढेको छ।जिल्लाका बजारहरुमा बिहानदेखि बेलुकासम्म सामान किनमेल गर्ने ग्राहकहरूको भिड बढेपछि व्यापार व्यवसायमा पनि उत्साह थपिएको छ ।विशेषगरी कपडा,जुत्ता,कस्मेटिक,मिठाइ,मासु तथा दैनिक उपभोग्य सामानका पसलमा ग्राहकहरूको भीड बढिरहेको उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठले बातए ।उनका अनुसार दशैं नजिकिँदै गर्दा बालबालिकादेखि वृद्धवृद्धासम्म नयाँ कपडा किन्ने,घर सरसफाइ गर्ने,विभिन्न प्रकारका खाद्य सामाग्री जोहो गर्ने परम्परा रहँदै आएको छ।यही कारण बजारमा चहल पहल बढ्दै जाँदा व्यापारीहरू पनि खुस भएका छन् ।
सिन्धुलीको सिन्धुली माडी बजारका साथै दुधौली बजार लगायतका जिल्लाका मुख्य बजारहरुमा बिहानैदेखि उपभोक्ता सामान किन्न भीड लाग्ने गरेको छ।कतिपय ठाउँमा मुल्य वृद्धिको गुनासो उपभोक्ताबाट आएको छ भने,व्यापारिहरूले भने माग र आपूर्तिको आधारमा मूल्य निर्धारण गरिएको दाबी गरेका छन्।उपभोक्ता हित संरक्षणका लागि स्थानीय प्रशासन र उद्योग बाणिज्य संघका साथै घरेलु तथा बाणिज्य कार्यालय र खाद्य गुण तथा प्रविधि नियन्त्रण कार्यालयले बजार अनुगमनलाई पनि तीव्र पारेका छन्।
बजारमा चहल पहल मात्र नभई यातायात व्यस्तता पनि बढ्न थालेको छ।गाउँघरबाट मानिसहरू बजारमा किनमेल गर्नका लागि आउन थालेपछि सार्वजनिक यातायातमा चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।ग्राहकहरू चाहिँ बजारमा भीड बढी,भाउ चर्को र सामान छनोटमा कठिनाइ भएको गुनासो गर्न थालेका छन्।तर,चाडपर्व नजिकिँदै गर्दा परम्परागत रूपमा परिवारसँग रमाइलो गर्ने,नयाँ कपडा लगाउने र मीठा परिकार खाने चलन भएकाले पनि उत्साह भने कम भएको छैन।
यसरी,चाडपर्वको सुरुवातसँगै बजारमा बढ्दो चहलपहलले व्यापार व्यवसायमा नयाँ ऊर्जा थपेको भएपनि भदौ २३ र २४ गतेको आन्दोलनका साथै कोरोना महामारी र आर्थिक मन्दीका कारण जिल्लाका बजारहरुमा पहिलाको तुलनामा चहल पहल कम देखिएको स्थानीय जानकारहरु बताउँछन् ।