नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताउनुभयो ।आज(शनिवार)सर्लाहीमा भएको माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक सङ्गठन र मधेसवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनबीचको एकता घोषणा समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा(माओवदाी केन्द्र)का अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताउँदै मधेशवादी दलहरुसंग पार्टी एकता गरेको अगाडी बढ्ने विषयमा आफुले छलफल शुरु गरेको समेत अध्यक्ष प्रचण्डले बताउनु भयो । उहाँले पार्टी एकता गर्दा जसपाका नेताहरुलाई सम्मानजनक स्थान दिन पनि आफू तयार रहेको बताउनु भयो ।
उक्त एकता घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले उपेन्द्र यादव, महेन्द्र राय यादवलगायतका नेताहरुको नाम लिँदै सरकार निर्माणमा गठवन्धन भइसकेकाले अब पार्टी एकता गर्न सकिने बताउनुभयो ।
मधेसी जनताको हितमा काम गर्न पार्टी एकताको प्रस्ताव आफूले गरेको उहाँले बताउँनु भयो । आफू जनकपुर आएर पार्टी एकताको घोषणा गर्न तयार रहेको उहाँको भनाई छ । अहिलेको गठवन्धन सरकारले मधेसका नागरिकतासम्वन्धी समस्याको चाँडै समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले मधेशले आफुलाई माया गरेको बताउँदै आफुले मधेशबाट पाउँने माया निरन्तर पाई राख्ने पनि दाबी गर्नु भयो ।
त्यसैगरी उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जिस्काउँदाको परिणाम भोग्न थालेको बताउनु भयो ।अध्यक्ष प्रचण्डाले गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा ओली निकट सरकार रहेकाले ढालेको तथा अबको १५ दिनभित्र प्रदेश नम्बर–१ मा पनि अर्को सरकार बन्ने दाबी गर्नु भयो । ओलीको अहंकारकै कारण तीन प्रदेशमा सरकार गइसकेको र चौथो रुपमा रहेको प्रदेश–१ ढुलमुल ढुलमुल अवस्थामा रहेको उहाँको भनाई छ । ‘मैले माओवादी आगो हो, आगोसँग नखेल्नुस भनेर प्रधानमन्त्री हुँदा नै भनेको थिएँ, तर उहाँले मान्नु भएन्, फलस्वरुप आफू पनि बालुवाटारबाट बालकोट जानुपर्यो, तीन प्रदेश पनि गयो, अब प्रदेश १ जाँदैछ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बताउनु भयो ।
राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण गरेर नेकपा बनाउँदै वामपन्थीहरुलाई समाजवादतर्फ लाने योजना रहे पनि केपी ओलीको षड्यन्त्र, निरंकुश शैली, एकाधिकारवादी, अहंकारीका कारण बादशाहजस्तो रहेको दुई तिहाइको सरकार ढाल्नु परेको अध्यक्ष प्रचण्डको भनाई छ । उहाँले मधेसी जनताको अधिकारका लागि संविधान संशोधन प्रस्ताव राखे पनि ओलीसहितका षड्यन्त्रकारीहरुले पास हुन नदिएको जिकिर गर्नु भयो । ओलीलाई मधेस विरोधीको संज्ञा दिँदै अध्यक्ष दाहालले मधेसका मसिहा भनाउँदा महन्थ ठाकुर र राजेन्द्र महतो ओलीका मतियार बनेको आरोप लगाउनु भयो । उहाँले मधेसी जनताको पक्षमा काम नगर्ने राजेन्द्र र महन्थ मधेसका मसिहा तथा मधेसी नै नरहेको दाबी गर्नु भयो । अध्यक्ष प्रचण्डले प्रविधिकरुपमा कुनै त्रुटी नभए प्रधानमन्त्री फर्केपछि नागरिकताको ऐन पारित हुने विश्वास दिलाउनु भयो ।उहाँले नेपालमा अझै पनि शिक्षा क्षेत्र पछाडी परेको बताउँदै शिक्षा क्षेत्रलाई राज्यले उपेक्षा गर्दै आएको आरोप लगाउनु भयो । नेपालको विकास नहुनुमा शिक्षा क्षेत्र पछाडि पर्नु रहेको बताउँदै यसका लागि नयाँ किसिमको आन्दोलन गर्नुपरे आफू त्यसका लागि नेतृत्वदायी भूमिका खेल्न तयार रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।