सर्लाहीको हरिवन नगरपालिका १० मा ५ घर गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले देउसी भैलो कार्यक्रम सञ्चालन गरिएकोे छ । नेकपा(एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सर्लाहीको अगुवाई तथा हरिवन नगरपालिका १० वडा कमिटीको आयोजनामा देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको हरिवन नगरपालिका १० का वडा अध्यक्ष शम्भु मैनालीले जानकारी दिनु भयो । उहाँका अनुसार बिहिवार लक्ष्मीपूजादेखि सुरु भएको देउसी भैलो कार्यक्रम शनिवार सम्म चल्ने छ ।
बास नहुनेलाई आवास निर्माण गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रमको आयोजना भइरहेको राष्ट्रिय युवा संघ नेपाल सर्लाही जिल्ला कमिटीका अध्यक्ष जोनिश पाख्रिनले बताउनु भयो । कार्यक्रमको व्यवस्थापन एमाले हरिवन नगरपालिका १० को वडा कमिटीका अध्यक्ष रोजन घिसिङ र आयोजक कमिटीका गौतम स्याङतानले गरिरहेका छन् ।
बास नहुनेलाई आवास निर्माण गर्न सहयोग गर्ने लक्ष्यका साथ देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको र देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमले हरिवन नगरपालिका १० का ५ घर गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्ने कार्यक्रम आयोजकले बताएको छ ।