Close This

उपचार खर्च अभावमा अस्पतालमा बन्दक भएका पाँच युवा डिस्चार्ज

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२० गते   ३६ पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ का पाँच जना मुसहर युवक उपचार खर्च तिर्न नसक्दा चार दिनसम्म अस्पतालमै बन्धक भएर बसेका थिए । केही दिनअघि भारतको उत्तर प्रदेशस्थित एक आलु भण्डारण गर्ने चिस्यान केन्द्रमा काम गर्ने तीन जना मजदुरको शङ्कास्पद मृत्यु भएको थियो । त्यसपछि गाउँ फर्किएर आएका पाँच जना युवकहरु पनि बिरामी परेपछि ईश्वरपुर नगरपालिका–७, स्थित गोदावरी अस्पताल बयलवासर जिल्ला अस्पताल मलंगवामा भर्ना भएका ईलाका प्रहरी कार्यालय बयलवास,केशरगन्जले जनाएको छ ।
अस्पतालमा भर्ना भएका चन्द्रनगर गाउँपालिका–६, कामदका ती युवकहरु उपचारमा लागेको खर्च तिर्न नसक्दा चिकित्सकले डिस्र्चाज गरेको चार दिनसम्म पनि अस्पतालमै बन्धक भएर बस्न बाध्य भएका थिए । कात्तिक १० गते भर्ना भएका अत्यन्त विपन्न मुसहर युवकहरुलाई वुधवार केही रकम बुझाएर अरु रकम पछि बुझाउने गरि बुधबार अस्पतालले डिस्चार्ज गरेको ईलाका प्रहरी कार्यालय बयलवास,केशरगन्जका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनु भयो । उहाँका अनुसार बाँकी रकम केही दिनपछि भुक्तानि दिलाउने गरी बिरामीहरुलाई अस्पतालबाट डिस्चार्ज गराइएको हो । बिरामीहरु बन्दक भएर बस्नुपरेको सम्वन्धी जानकारी प्रहरीलाई ढिलो आएको र प्रहरीलाई खबर आउना साथ अस्पतासंग समन्वय गरि केही रकम बुझाएर उनिहरुलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
अस्पतालका अनुसार, पाँच जना युवकको आठ दिनसम्म अस्पतालमा राखेर उपचार गर्दा करिव रु १ लाख ५० हजारको बिल उठेको छ । पाँचै जना बिरामी सुरुमा डेङ्गी लागेको भनेर उपचार गर्न आएका बताएपनि, उपचार गर्दै जाँदा अत्यधिक विषाक्त मदिरा सेवनबाट उनीहरु बिरामी परेको पाइएको अस्पतालका डाक्टर उमाशङ्कर गुप्ताले जानकारी दिनु भयो ।
डा. गुप्ताका अनुसार बिरामीहरुमा सुरुमा पेट दुख्ने, टाउको दुख्ने, बान्ता हुने समस्या देखिएपनि सबैको अवस्था सामान्य भएपछि उनिहरुलाई डिस्चार्ज गरिएको हो । भारतबाट मजदुरी गरेर फर्किएका युवकहरुले आफूहरुलाई मदिरा र औषधि सेवन गराई दैनिक १८÷२० घण्टासम्म काममा लगाएकाले बिरामी परेको अजय माझीले गुनासो गरेका छन् । उनका अनुसार उनिहरुलाई मदिरा र औषधिको नसामा अत्यधिक काममा पेलाइएको बताएका छन् । माझीसँगै मजदुरी गर्ने कामदका दुई जना र ईश्वरपुर भक्तिपुरका एक जनाको केही दिनअघि भारतमै मृत्यु भएको थियो ।
तीन जनाको शव गाउँ ल्याएर अन्त्येष्टि समेत गरि सकिएको प्रहरीले जनाएको छ । मृतकका परिवारले चन्द्रनगर कामदकै ठेकेदारले कामका लागि लगेर औषधि र मदिरा सेवन गराई बढी समय काममा लगाएर ज्यानै लिएको भन्दै घटनाको अनुसन्धान गरिदिन स्थानीय प्रशासन र जनप्रतिनिधि समक्ष माग गरेका छन् । यता,आफ्ना कामदार विरामी परेका र केही कामदारको मृत्यु भएपछि ठेकेदार फरार रहेका र उनको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech