Close This

सन्तानको 'खुसी' देख्ने आमाका सपनाहरू

पत्र पत्रिका    प्रकाशित: २०७७-१-११ गते   ४८४ पटक हेरिएको

मैले मेरो बोली फुटेपछि सुरु गरेको पहिलो शब्द ‘आमा’ । सायद संसारका अधिकांशले आफ्नो भाषामा बोल्ने पहिलो शब्द हो ‘आमा’ । आज मातातिर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन । आमा शब्दको बयान गरी साध्य छैन । आमा ममता कि खानी, आमा धरती, आमा ईश्वरको साक्षात रूप, जननी, अर्थात सृष्टिकर्ता आमाका अनेक रूप छन्, जुन बयान गरेर सकिँदैन ।

एउटी छोरी आमाको कोखबाट जन्मिएर हुर्किएर फेरि आमाकै रूप लिन्छिन् । सायद ती आमाका लागि पनि संसारको सबैभन्दा खुसीको दिन आमा बन्न पाउँदा । शास्त्रमा पनि आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको छ ।

सायद कुनै सर्तबिनाको नाता नै हुन् आमा । पवित्र, निश्चल अनि निस्कपट । आजको यस दिनमा आमालाई सम्झिने चलन छ । आमालाई सम्मान गर्ने, उपहार दिने, मीठो खानेकुरा खुवाउने गरिन्छ ।प्रविधिको विकासँगै अचेल धेरैले आफ्नी आमालाई एक दिन नै भए पनि सम्झिने गर्छन् । धेरैले सामाजिक सञ्जालमा आफ्नी आमाको तस्बिर पोस्ट्याउने गर्छन् ।

आफ्नी आमालाई सम्झिनुमा कुनै गलत होइन तर ‘क’, ‘ख’ सम्म नजानेकी गाउँमा बसेर डाडुपन्यू चलाउन जाने पनि फेसबुक चलाउन नजानेकी आमालाई तिम्रो सम्झना कस्तो होला खोइ ? यसो भन्दा मैले सामाजिक सञ्जालमा सम्झिनेहरूको विरोध गरेको नबुझौँ ।

आमाबाटै सुरु भएको यो जीवन, आमाले नै हुर्काएर बढाएर एउटा सक्षम नागरिक बनाउँछिन् । घाम, पानी दिनरात नभनी एउटा सन्तानका लागि आफ्नो सम्पूर्ण जीवन बलिदान दिन्छिन् । जोसँग कुनै स्वार्थ छैन, हो तिनै हुन् आमा । अलिकति केही भयो कि हामी सबैले सम्झिने पहिलो व्यक्ति नै हुन् आमा ।

एउटा बालक आमाको कोखमा नौ महिना बसेर संसार टेकेपछि पनि ६ महिनासम्म आमाकै दूधमा निर्भर रहन्छ । त्यसपछि त्यो सन्तान हुर्काउन आमाले आफ्ना सबै खुसीहरूलाई पर सार्दै सन्तानकै खुसीमा रमाउन थाल्छिन् । म सानी छँदा मैले मेरी आमालाई दुख दिँदा मेरी आमा मलाई गाली गर्दै भन्ने गर्नुहुन्थ्यो, ‘तेरा पनि छोरा, छोरी भएपछि थाहा पाउलिस् ।’

आज म दुई सन्तानकी आमा हुँ । बल्ल महसुस गर्दै छु, सन्तानको खुसी के हो ? अनि आमाको माया । साँच्चै संसारमा कुनै स्वार्थरहित प्रेम छ भने त्यो आमाको प्रेम हो म ठोकुवाका साथ भन्न सक्दछु ।

एउटा साधारण भनाइ पनि छ, ‘पोले पनि घामै जाति, पिटे पनि आमा नै जाति ।’ आज म मेरी आमाबाट टाढा बस्दा महसुस गर्न सक्छु । मेरी आमाको निश्चल माया । जो मैले ठूलो सहरमा पनि पैसाले कहीँकतै किन्न सक्दिन ।

म कल्पना पनि गर्न सक्दिन आमाबिनाको जीवन । हरेक वाधासँग लड्नसक्ने सहनशीलताकी खानी हुन् आमा । जोडी पिकल्टले भनेका छन्, ‘रुनका लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अङ्गालो हो ।’ 

एउटी आमाले सन्तान जन्माउँछीन्, हुर्काउँछिन् । उनले सकभर आफूले जानेबुझेसम्मको शिक्षा दिन्छिन् र एक सबल नागरिक तयार पार्छिन् ।एउटा सन्तानलाई पीडा हुँदा सबैभन्दा पहिले आँसु झार्ने आमा नै हुन् भने सन्तानको सफलतामा खुसीको आँसु झार्ने पनि आमा नै । भनिन्छ ‘एउटा सुन्दर र सफल घर हुनका लागि आमा असल हुनुपर्छ ।’

एउटा सन्तान जन्मेर हुर्केर, बढेर ,पढेर जति नै सम्पन्नशाली भए पनि आमाको नजरमा ऊ एउटा बालक नै रहन्छ ।एउटा सन्तान सहरमा जति नै सम्पन्नशाली भएर बसे पनि गाउँमा बसेकी आमाले गुन्द्रुक पारेर पठाउँछिन । भनिन्छ, ‘तिमीसँग धन सम्पत्ति नभएर केही चिन्ता छैन। तिमीसँग तिम्री आमा छिन् । आमा त्यो खुसी हो, जो धनसम्पत्तिसँग तुलना गर्न सकिँदैन ।’

एकपटक महसुस गरौँ त आमा नहुनेहरूका लागि संसार कस्तो छ । आमाबिनाको पनि के घर ? म सम्झन्छु त्यो बालापन । म विद्यालयबाट घर फर्किँदा घरको ढोकामा आएर चिच्याउने पहिलो शब्द हुन्थ्यो ‘आमा’ ।

कहिलेकाँही आमा कतै गएको भए मन अतालिन्थ्यो । मेरी आमा कतै गइन् भने आखाँहरू आमाकै बाटो कुरिरहन्थे । म र मेरो भाइ आमासँग सुत्नको लागि गरेको त्यो झगडा आज पनि दिमागमा ताजै छ ।

सायद समयसँगै परिस्थितिले च्यापेर होला, आज मैले मेरी आमाले मलाई दिने ममता मैले मेरा सन्तानका लागि दिँदै छु । म चाहेर पनि मेरी आमाले मलाई दिएको ममता मैले उनलाई फर्काउन सक्दिन । र यसो मनमा लाग्दछ, ‘साँच्चै सन्तान स्वार्थी नै बन्दो रहेछ क्यार ।’ आज म आमा भएर मेरै सन्तानको खुसीमा भूल्दैछु ।

तर मेरी आमाले मलाई गर्ने मायामा कुनै बीसको, उन्नाइस भएको छैन । अहिले पनि मेरी आमा मलाई हरबखत सम्झाइरहन्छिन् । म सानो हुँदा ‘घरको डाक्टर’ आमा अहिले पनि उस्तै छिन् ।

मलाई केही भए मलाईभन्दा बढी मेरी आमालाई दुख्छ । हुदा हुदा मेरी आमालाई मेरा सन्तान यान कि नातिनातिनीको पनि उति नै माया छ । अहो ! कस्तो माया हो ।आमाको जो, जति तन्काए पनि नटुट्ने , सधैँ बढी नै रहने । कतै भनिएको छ, ‘संसारको सबै ठाउँमा भगवान पुग्न सक्दैनन्, त्यसैले उनले आमा बनाए ।’ यो भनाइ मलाई निकै सार्थक लाग्छ ।

साँच्ची एउटी आमालाई सम्झिन के एक दिन मात्र काफी छ त ? म भन्दछु आमालाई बिर्सिदै नर्बिसिनु । सायदै कोही आमा होलिन् जो सन्तानको कुभलो चिताउछिन् । कदापी एउटी आमा सन्तानको नराम्रो चिताउन सक्दिनन् ।

निकै शिक्षित र सम्भ्रान्त भनिएका सन्तानले पनि आफ्नी आमालाई वृद्धाश्रममा पुर्याएको सुन्दा लाग्छ, ‘ती पनि मानव हुन र ?’ ती राक्षसरूपी सन्तानहरूलाई धिक्कार छ । म प्रार्थना गर्दछु ती महान आमाहरू, जो सन्तानका लागि बाँचे ।

म आज पनि कौसीबाट यसो चिहाउँदा बाहिर चराले आफ्नो बचेरोलाई चारो खुवाएको देख्दछु, अनि म मेरी आमालाई सम्झन्छु । एउटी आमाको सपना जीवनभर सन्तानको प्रगतिमा अडेको हुन्छ ।

आमाको विशाल हृदयमा सन्तानका लागि बस माया नै माया । आज पनि मलाई गाह्रोसाह्रो पर्नासाथ ५० कटेकी मेरी आमा जवान भएर अगाडि सरेको देख्दा म आफूलाई पाँच वर्षे बालक जस्तै महसुस गर्दछु ।मैले मेरी आमाको बयान गरिरहँदा मलाई लाग्छ, ‘संसारका सबै आमा यही रूपका हुन् ।’ म कल्पना गर्दछु , ‘अरु आमामा केही फरक नहोला । सबैका आमा उही नै हुन् ।’ सृष्टिकर्ता मेरी आमा मेरो लागि सबैभन्दा प्रिय छिन् ।

म कल्पना पनि गर्न सक्दिन आमाबिनाको जीवन । हरेक वाधासँग लड्नसक्ने सहनशीलताकी खानी हुन् आमा । जोडी पिकल्टले भनेका छन्, ‘रुनका लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अङ्गालो हो ।’ यसो भनिरहँदा युग परिवर्तनसँगै अहिले मानिसहरू निकै स्वार्थी बन्दै गएको देख्दछु । कति सन्तानले आफ्नी आमालाई वृद्धाश्रमसम्म पुर्याएका छन् । कतिले आमालाई रुवाएका छन् ।

निकै शिक्षित र सम्भ्रान्त भनिएका सन्तानले पनि आफ्नी आमालाई वृद्धाश्रममा पुर्याएको सुन्दा लाग्छ, ‘ती पनि मानव हुन र ?’ ती राक्षसरूपी सन्तानहरूलाई धिक्कार छ । म प्रार्थना गर्दछु ती महान आमाहरू, जो सन्तानका लागि बाँचे ।तिनका आँखामा आँसु देख्न नपरोस् । चाउरी परेको गालामा मीठो मुस्कान सधैँ रहिरहोस् । म आशा गर्दछु कुनै घर आमाबिनाको नहोस् कुनै आमा बेघर बन्न नपरोस् । संसारका सबै आमाहरूमा नमन ।शर्मिला भण्डारी रुपन्देहीमा रहेको तिलोत्तमा एफएमको प्रबन्ध निर्देशक हुुनुहुन्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech