Close This

सदस्यता विवाद कायमै तर अधिवेशन आजबाट गर्ने सर्लाही कांग्रेसको तयारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-११ गते   १०६४ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाहीको तेस्रोपटक तोकिएको वडा अधिवेशन आज(आईतबार)बाट शुरु हुने भएको छ । कांग्रेस संस्थापन र इतरपक्षबीचको विवादले पटकपटक अन्योलमा पर्दै आएको वडा अधिवेशनको विभिन्न चरणमा दुवैपक्ष बसेर छलफल गरेपछि तेस्रोपटकको मिति आज(आईतबार)लाई तोकिएको हो ।
दुवै पक्षबीच विभिन्न चरणमा पटक पटक छलफल गरी वडा अधिवेशन गर्ने सहमति गरेको नेपाली कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार दुई पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि सर्लाहीमा तेस्रोपटक निर्वाचन अधिकृत खटाइएको छ । अधिवेशन गराउन सर्लाही आइपुगेका निर्वाचन अधिकृत भरत राउतको रोहबरमा जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्वजिल्ला सभापति लक्ष्मण राय समूहबीचविभिन्न चरणमा लामो छलफल भएको थियो । 
लामो छलफल पछि जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाउने सहमति भएको निर्वाचन अधिकृत राउतले बताउनु भयो । सर्लाहीमा कांग्रेसको संस्थापन र संस्थापन इतरबीच यो तेस्रोपटक वडा अधिवेशन गर्ने सहमति भएको हो । दुबै पक्षबीच  भएको सहमतिमा मंसिर १२ गते आइतबार(आज)वडा अधिवेशन, प्रदेश अधिवेशन सरेमा १४ गते मंगलबार पालिका अधिवेशन र प्रदेश अधिवेशन नसरेमा सोही दिन पालिका अधिवेशन स्थगित गरी प्रदेश सभा अधिवेशन गर्ने सहमति भएको छ । 
त्यसैगरी १५ गते बुधबार क्षेत्रीय अधिवेशन र १७ गते शुक्रबार जिल्ला अधिवेशन गर्ने समेत सहमति गरेको निर्वाचन अधिकृत राउतले जानकारी दिनुभयो । जिल्ला सभापति नागेन्द्र कुमार रायको पक्षबाट केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, क्षेत्र नम्बर ३ का अध्यक्ष पुण्यहरि घिमिरे, लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपाने, रुपेशकुमार यादवलगायत सहभागी थिए भने पूर्वजिल्ला सभापति लक्ष्मण रायको तर्फबाट जिल्ला उपसभापति रामवली राय, जिल्ला सचिव नवीन अधिकारी, पूर्वजिल्ला उपसभापति विनोद खनाल, नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष कौशलकिशोर राय, युवा नेता बलीराम झा, रविनन्दन चौधरीलगायतको छलफलमा सहभागीता रहेको थियो ।
जिल्ला सभापति नागेन्द्रकुमार राय प्रधानमन्त्री एवम पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्ष अर्थात संस्थापन र पूर्वजिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल समूह संस्थापन इतरपक्षका हुन् । यी दुई समूहको विवादले जिल्लामा कांग्रेसको पटक–पटक जिल्ला अधिवेशन अन्योलमा पर्दै आएको छ । यसअघि दुई समूहबीच मतदान अधिकृत खटाउने र निर्वाचन अधिकृतको कार्यालय राख्ने विषयमा विवाद हुँदा दुईजना निर्वाचन अधिकृतहरुले जिल्ला अधिवेशन प्रक्रिया नै गराउन नसकेपछि राजीनामा बुझाएर फर्किएका थिए । 
जिल्लाका सबै स्थानिय निकायका वडाहरुमा मतदान अधिकृत खटाइएको निर्वाचन अधिकृत राउतले बताउनुभयो । निर्वाचन अधिकृत राउतका अनुसार मतदान अधिकृतको रूपमा खटिने शिक्षकहरूलाई शनिबार तालिम दिइएकोछ भने निर्वाचन सामग्री उपलब्ध गराइएको छ ।
दुई समूहबीच फेरि क्रियाशील सदस्यता थपिएको र मतदान अधिकृत खटाउने विषयमा विवाद उत्पन्न भएपछि अचानक यस पहिला नै शुक्रबारको लागि तय भएको वडा अधिवेशन स्थगित भएको थियो । दुुई पक्षको विवादका कारण देशैभरिमा सर्लाहीमा मात्रै कांग्रेसको अधिवेशन प्रक्रिया अघि बढ्न सकेन । छलफलमा सहभागी दुवैपक्षका नेताहरुले जिल्ला अधिवेशन प्रक्रिया पूर्ण रूपमा अगाडि बढ्ने दुवै पक्षका नेताहरूले बताएका छन् । तथापी पनि सर्लाहीमा सदस्यता विवाद भने कायमै रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech