जिल्ला प्रशासन कार्यालय सर्लाही र ईलाका प्रशासन कार्यालयहरुमा प्रशासकीय अधिकृत अभाव हुँदा नागरिकलाई सास्ती भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाही र ईलाका प्रशासन कार्यालयहरुमा प्रशासकीय अधिकृत अभाव हुँदा नागरिकलाई सेवा प्रवाहमा सास्ती भएको छ ।
जिल्ला प्रशासन कार्यालयका साथै ईलाका प्रशासन कार्यालय हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत अभाव हुँदा नागरिकलाई सेवा प्रवाहमा निकै सास्ती भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।उनका अनुसार कार्यालयमा सबैभन्दा धेरै काम र जिम्मेवारी हुने प्रशासकीय अधिकृत नै नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।
तीन जना प्रशासकीय अधिकृतको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीमा अहिले काजमा समेत गरी दुई जना प्रशासकीय अधिकृत कार्यरत रहेका छन् । प्रशासकीय अधिकृत राजकुमार थापा एक जना मात्रै हुँदा नागरिकता जारी गर्नेदेखि अन्य काम प्रभावित भएपछि इलाका प्रशासन कार्यालय हरिवनका प्रशासकीय अधिकृत गुणराज भुजेललाई जिल्ला प्रशासन कार्यालयमा काजमा खटाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
दुई जना प्रशासकीय अधिकृतमध्ये थापा पनि गएको शुक्रबारदेखि एक साताका लागि बिदामा बसेका छन् । अहिले जिल्ला प्रशासन कार्यालयमा अधिकृत भुजेल एक जना मात्रै कार्यरत रहेका छन् । तीन जना प्रशासकीय अधिकृत हुँदा समेत नागरिकता,राहदानी, राष्ट्रिय परिचय–पत्रलगायतका काममा भ्याइनभ्याइ हुने गरेकोमा अहिले एक जना मात्रै अधिकृत हुँदा सेवा प्रवाहमा निकै समस्या भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तीन जना अधिकृतको काम अहिले प्रशासकीय अधिकृत भुजेल एक्लैले गरि रहेका छन् । जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रशासकीय अधिकृत उर्मिला अधिकारी केही महिनाअघि नै र अर्का प्रशासकीय अधिकृत कामेश्वर यादव केही साताअघि सरुवा भएर गएपछि कार्यालयलाई अधिकृतको अभाव भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । उनका अनुसार एक जना मात्रै प्रशासकीय अधिकृत हुँदा सेवाग्राहीलाई सेवा लिन समय लाग्ने गरेको छ ।
घण्टौं लाइनमा बस्नुपर्दा सेवाग्राहीहहरु थप झन्झट बेहोर्न बाध्य भएका छन् । इलाका प्रशासन कार्यालय हरिवनमा अहिले कार्यालयमै कार्यरत नायब सुब्बा रञ्जितकुमार साहलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । नायब सुब्बा साहलाई नागरिकता लगायतका कागजातमा हस्ताक्षर गर्ने गरी अख्तियारी दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
इलाका प्रशासन कार्यालय बरहथवा पनि अहिले नायब सुब्बाकै भर छ । प्रशासकीय अधिकृत रामनरेश राम उपसचिवको परीक्षाका लागि बिदामा बसेकाले इलाका प्रशासन कार्यालय बरहथवामा नायब सुब्बा राजेश रायलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नागरिकता फाँटतर्फ मात्रै जिल्ला प्रशासन कार्यालयबाट नयाँ र पुरानो गरी दैनिक करिब एक सय ५० वटा र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट दैनिक करिब ४०÷४५ वटा नागरिकता जारी हुने गरेका कार्यालयले जनाएको छ । यि कार्यालयमा राहदानी र राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चाप पनि उत्तिकै हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी यादवले दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या रहेको र यसबारेमा माथिल्लो निकायमा जानकारी गराइएको बताए । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी पनि वैदेशिक भ्रमणका लागि केही दिनअघि देखि नै बिदामा रहेका छन् ।