नेपाली कांग्रेस सर्लाहीका क्षेत्र नं. १ र ४ मा नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत मंगलवार(आज)बाट मतदान शुरु भएको छ । दुवै ठाउँमा उम्मेदवारहरुको नामावलीसहितको मतपत्र छापेर आउन ढिलाई भएका कारण बिहानैदेखि सुरु गर्ने भनिएको मतदान दिउँसोबाट शुरु भएको हो ।
क्षेत्र नं. १ को ईश्वरपुरस्थित बयलवास र क्षेत्र नं. ४ को गोडैतास्थित रामवनमा क्षेत्रीय अधिवेशन स्थल तोकिएको थियो । क्षेत्र नं. १ मा संस्थापन पक्षबाट कुवेर आचार्य र संस्थापन इतरबाट हरि लुङ्गेली सभापतिको उम्मेदवार बनेका छन् । त्यस्तै, क्षेत्र नं. ४ मा संस्थापन पक्षबाट धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह र संस्थापन इतरबाट हरेन्द्र सहनी सभापतिको उम्मेदवार बनेका छन् ।
यस्तै, क्षेत्र नं. २ मा भने मतदान अधिकृत अस्वस्थ भएको भन्दै मंगलवार(आज)लाई क्षेत्रीय अधिवेशन प्रक्रिया नै स्थगित गरिएको छ । निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले मंगलवार(आज) एक सूचना जारी गरेर क्षेत्र नं. २ मा बुधबारबाट मात्रै अधिवेशन प्रक्रिया अघि बढ्ने जानकारी गराउनु भएको छ ।
त्यसैगरी, क्षेत्र नं. ३ मा मंगलबार(आज)बाट अधिवेशन प्रक्रिया अघि बढेको छ । ३ नम्वर क्षेत्रमा क्षेत्रीय प्रतिनिधि चयनमा विवाद रहेको थियो । क्षेत्र नं. २ को सदरमुकाम मलङ्गवा र क्षेत्र नं. ३ को बरहथवामा अधिवेशन स्थल तोकिएको छ ।