अनियमित विद्युत कटौतीको मारमा जिल्लाबासी

2.5k Shares

 केही दिनयता छिन छिनमा विद्युत कटौती हुँदा जिल्लाका उपभोक्ताहरु मरमा परेका छन । १०–१० मिनेटमा विद्युत झ्याप झ्याप कट्ने र लाईन आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज आउँदा जिल्लाबासी आजित बनेका छन् । 
अत्यन्त चर्को गर्मी मौसममा अनियमित विद्युत कटौती हुनु र आउँदा पनि अत्यन्त न्यून भोल्टेज आउँदा पंखा समेत नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आएको जिल्लाका उपभोक्तहरुको गुनासो छ ।
अनियमित विद्युट कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्थामा पुगेका एक व्यवसायीले गुनासो गरेका छन । अत्यन्त न्यून भोल्टेज हुँदा विद्युत भएको समयमा समेत जेनेरेटर चलाएर काम गर्नु पर्ने अवस्था रहेको व्यवसायीहरुको गुनासो छ । त्यस्तै अनियमित विद्युत कटौतीले अनलाईन कक्षा पढ्ने विद्यार्थीहरु समेत मारमा परेका छन् ।
क्षमता भन्दा बढी मात्रामा विद्युत् खपत हुँदा जिल्लाभर नै विद्युत प्रवाहमा बारम्बार समस्या आइरहेको विद्युत प्राधिकरणले जनाएको छ । रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रशारण लाईन हरिपुर, बरहथवा र मलंगवा सव–स्टेशन हुँदै जिल्लाभर वितरण भईरहेको छ ।
‘जिल्लाका तीनवटा सव स्टेशनले ३३ केभीबाट लिएको करेन्ट पाँच सय एम्पियर सम्म पुग्ने गरेको छ । तर जिल्लामा विस्तार भएको तारको क्षमता ४३० एम्पियर मात्रै छ । यसरी तारको क्षमता भन्दा बढी करेन्ट प्रवाह हुँदा जम्पर खाने अर्थात तारको कनेक्सन छुट्ने समस्या बारम्बार दोहोरिने गरेको’ नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले बताउनु भयो ।
उहाका अनुसार बागमती र चन्द्रनिगाहपुर बीचको जंगलमा कुनै एक ठाउँमा रुखका हाँगा भाँचिएर तारमा खस्दा पनि लालबन्दीबाट प्राविधिक गएर ठाउँ पहिचान गरी मर्मतको काम गर्दा घण्टौंसम्म विद्युत ठप्प हुने गरेको छ । हरेक दिन भोल्टेज अनियमित भई विभिन्न सव स्टेशनमा जम्परिङ हुँदा पटक–पटक विद्युत अनियमित भई रहेको छ ।
वर्षा धेरै हुँदा पोल ढल्ने र चर्को घाम लागेको समयमा ओभरहिट भएर कनेक्सन छुट्ने समस्या बढी देखिने गरेको प्राविधिकहरुले बताएका छन् । जिल्लाको नवलपुरमा बनिरहेको सव स्टेशन सञ्चालनमा नआउँदासम्म जिल्लामा विद्युतको समस्या रही रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार