Close This

कांग्रेस महाधिवेशनमा सर्लाही १ र २ मा संस्थापनइतर विजयी, क्षेत्र नम्बर ३ को मत परिणाम सार्वजनिक गर्न बाँकी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२३ गते   १७२० पटक हेरिएको

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत सर्लाहीमा भएको क्षेत्रीय महाधिवेशनमा दुई क्षेत्रमा संस्थापनइतर विजयी भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा संस्थापनइतरले क्षेत्रीय सभापति सहित विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
आज( बिहीबार) सम्पन्न मतगणनाअनुसार जिल्लाको क्षेत्र नम्बर १ मा संस्थापनइतर पक्षका हरि लुंगेली मगर र २ मा कौशलकिशोर राय क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । कार्यालयका अनुसार संस्थापन पक्षबाट प्रतिस्पर्धामा उत्रिएका क्षेत्र नम्बर १ का कुवेर आचार्य र द २ का रुपेशकुमार पराजित भएका छन् । दुवै क्षेत्रमा संस्थापन र संस्थापनइतर बीच कडा प्रतिस्पर्धा भएको थियो । 
कांग्रेसका दुवै पक्ष प्यानलै घोषणा गरेर चुनावी मैदानमा उत्रिएका थिए । मत परिणामअनुसार क्षेत्र नम्बर  १ का विजयी क्षेत्रीय सभापति लुंगेलीले ४ सय ५४ मत प्राप्त गरेका छन् भने पराजित भएका आचार्यले ३ सय १७ मत मात्र पाएका छन् । यस्तै, क्षेत्र नम्बर  २ बाट निर्वाचित रायले ३ सय ८८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी रुपेशले ३ सय ६८ मत मात्र प्राप्त गरेका कार्यालयले जनाएको छ ।  
यस्तै क्षेत्र नम्बर १ र  २ दुवैमा महाधिवेशन प्रतिनिधिमा पनि संस्थापनइतर नै हाबी भएको छ । मत परिणामअनुसार क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधिमा संस्थापन इतरका १५ जना र संस्थापनका ९ जना मात्र विजयी भएका छन्  भने क्षेत्र नम्बर २ मा अधिकांश संस्थापनइतरका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । 
यस्तैै, संस्थापन इतरले क्षेत्र नम्बर २ मा पनि बाजी मारेको छ । संस्थापन पक्षमा रहेका जिल्ला सभापति नागेन्द्र राय र संस्थापन इतरपक्षमा रहेका पूर्वजिल्ला सभापति लक्षमण रायबीच  कडा प्रतिस्पर्दा देखिएको थियो । संस्थापन तर्फका क्षेत्र नम्बर २ मा जिल्ला सभापति नागेन्द्रकुमार समेत महाधिवेशन प्रतिनिधिमा पराजित भए भने पूर्वजिल्ला सभापति एवम संस्थापन इतरपक्षका नेता लक्षण विजयी भएका छन् ।  
यस्तै, क्षेत्र नम्बर ३ मा पनि यो समाचार तयार पर्दा सम्म मत गणना जारी रहेकोे छ । यस क्षेत्रमा पनि कांगेसका दुई पक्ष प्यानलै घोषणा गरेर निर्वाचनमा होमिएका छन् । दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने नेताहरुको दाबी छ । क्षेत्र नम्बर ३ को अन्तिम मतपरिणाम केही समयमै(आजै) सार्वजनिक हुने निर्वाचन अधिकृतको सचिवालयले जनाएको हो । 
३ नम्बर क्षेत्रमा संस्थापनका तर्फबाट हरेस महतो तथा संस्थापनइतरको तर्फबाट विनोद खनालले नेतृत्व गरिरहेका छन् । क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट पुण्यहरि घिमिरे र संस्थापनइतरबाट भिखारी रायबीच प्रतिस्पर्धा रहेको छ । यसैबीच क्षेत्र नम्बर ४ मा  भने कांग्रेस संस्थापन पक्षको प्यानलै विजयी भइसकेको छ । यस क्षेत्रको क्षेत्रीय सभापतिमा रामआश्रय साह भारी मतान्तरले विजयी भएका छन् । संस्थापनइतरका नेतृत्व गरेका संघीय सांसदसमेत रहेका डा.अमरेश प्रसाद सिहं आफ्नै निर्वाचन क्षेत्रमा भारी मतान्तरले पराजित भएका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech