७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सर्लाहीमा पनि मनाइयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२४ गते   ५७ पटक हेरिएको

७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।“जीवन मर्यादा,समानता र स्वतन्त्रताको अधिकार, दिगो शान्ति र समुद्धिको आधार“ भन्ने नाराका साथ मानव अधिकार रक्षक संजालको  आयोजनामा कार्यक्रम गरिएको हो ।
दिवसको अवसरमा मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार ,महिला तथा पुरुषहरुद्वारा दाइजो प्रथा अन्त्य गरौं ,महिला अधिकारको सम्मान गरौं ,बालअधिकारको संरक्षण गरौं, लगायत विभिन्न नाराहरु लेखिएका प्लेकार्ड बोकेर मलंगवा नगर क्षेत्रको परिक्रमा गरेका थिए । 
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानको प्रमुख आतिथ्यतामा “जिल्लामा मानव अधिकारको अवस्था र सरोकारवालाहरुको भुमिका”को विषयमा अन्तरक्रिया समेत गरिएको छ ।उक्त अन्तरक्रियामा मानव अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकारकर्मी र सरोकारवालाहरु बीच जिल्लामा भएका र प्रायः हुने गरेका मानव अधिकार हनन्का घटना र त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
     जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा भएको कार्यक्रममा मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह,रजनीकांत झा,इन्सेकका बुधन साह,रम्भा झा, बिनिता कार्की,बाल कल्याण समाजका रामनगर गाउँ पालिकाका अध्यक्ष सुन्दर श्याम राय लगायतका समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
ओरेक, इन्सेक ,आर.आर.पि.के,सेभदचिल्ड्रेन,प्रेरणा परियोजना ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ,बाल कल्याण समाज,फ्रिडम फर अल नेपाल ,मलंगवा नगरपालिका लगायतको संयूक्त सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा  राष्ट्रिय लोकतन्त्र दैनिक सर्लाहीका सम्पादक मनोज यादव लगायत तीन जना पत्रकारहरु सहित २४ जना सम्मानीत भएका छन् । जिल्लामा घटित मानव अधिकार हन्न सम्बन्धि सुचना तथा समाचार सम्प्रेषण गरेको भन्दै दिवसको अवसर पारेर तीनजना पत्रकारहरु र २१ जना समाजसेवीहरुलाई सम्मान गरिएको हो । सम्मानीत पत्रकारहरु तथा समाजसेवीहरुलाई  कदरपत्र प्रदान गरिएको आयोजकले जनाएकोे छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech