सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित रहेको जनज्योति मा.वि फोस्रेटारले विद्यार्थीको स्वास्थ्य,पोषण र व्यवहारिक शिक्षालाई एकैसाथ प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालयमै उत्पादन गरिएको खाद्य सामाग्रीलाई दिवा खाजामा प्रयोग गर्ने नवीन अभ्यास सुरु गरेको छ।स्थानीय स्रोत र श्रमलाई उपयोग गर्दै विद्यालयले आत्मनिर्भरता तर्फ महत्वपूर्ण कदम अघि बढाएको प्रधानाध्यापक योगेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार विद्यालय परिसरमै उत्पादित अर्गानिक तरकारी,फलफूल तथा पशुपन्छीजन्य सामाग्रीलाई खाजाको रुपमा प्रयोग गर्न थालिएपछि विद्यार्थीले ताजा,सुरक्षित र पोषिलो भोजन पाएका छन् । यस पहलले बजारमा निर्भरता घटाउनुका साथै विद्यालयको खर्च व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पारेको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका अनुसार विद्यालयले हप्ताको प्राय दिन आफ्नै उत्पादनबाट खाजा व्यवस्थापन गर्दै आएको छ।“विद्यार्थीलाई आफ्नै उत्पादनको खाना खुवाउँदा उनीहरूको स्वास्थ्यमा सुधार देखिएको र विद्यालयको आर्थिक भार पनि घटाएको छ साथै आत्मनिर्भर बन्ने दिशामा सहयोग पुगेको छ ।”प्रधानाध्यापक अधिकारीले बताए ।
विद्यालयले खेतीपाती,पशुपालन तथा खाद्य उत्पादनका गतिविधिमा विद्यार्थीलाई संलग्न गराउनु यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष रहेको विद्यालयले जनाएको छ ।विद्यालयका अनुसार विद्यार्थीलाई कक्षाकोठा भन्दा बाहिरको सिकाइलाई सशक्त बनाउँदै कृषि पेशाप्रति रुचि जगाउने अपेक्षा समेत गरिएको छ ।विद्यालयले आगामी दिनमा उत्पादनको दायरा अझ विस्तार गर्ने योजना बनाएको छ।दीर्घकालीन रूपमा यो अभ्यासले विद्यार्थीमा आत्मनिर्भरता,सीप विकास र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विद्यालयले विश्वास लिएको छ ।