भारतिय सरकारको सहयोगमा निर्माण भएका दुई विद्यालय भवनको उद्धघाटन

2.4k Shares

सर्लाहीको विभिन्न स्थानमा भारत सरकारको सहयोगमा निर्माण भएका  विद्यालयहरुको उद्धघाटन गरिएको छ । जिल्लाको हरिपुर नगरपालिका ९ पिपरिया र लालबन्दी नगरपालिका १ को नवलपुरमा भारत सरकारको सहयोगमा निर्माण भएका  विद्यालयहरुको उद्धघाटन गरिएको हो ।
हरिपुर नगरपालिका ९ पिपरिया स्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय र लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको जनता माध्यमिक विद्यालयको नयाँ भवन उद्ध्घाटन गरिएको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले जनाएको छ । ईकाइ प्रमुख रामआधार कुशवाहका अनुसार विद्यालयको नव निर्मित भवनको नेपालस्थित भारतीय दूतावासका नियोगकी उप–प्रमुख नामग्य खम्पाले उद्घाटन गर्नु भएको हो ।
भारत सरकारको आर्थिक सहयोगमा बाल गोविन्द मा.वि.को भवन रु ६९ करोड ४ लाख र लालबन्दी नगरपालिका १ को जनता माविको भवन रु १ करोड ५९ लाख लागतमा निर्माण गरिएको दूतावासले जनाएको छ । यसअघि यी दुई विद्यालयमा प्रावि तह मात्रै रहेको थियो । लालबन्दी नगरपालिका १ नवलपुरको जनता माविको भवन व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापनका लागि पनि उपयोग भइरहेको छ ।
पछिल्लो करिब १८ वर्षको अन्तरालमा भारत सरकारले नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । हालसम्म ४ सय ६१ वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको दूतावासले जनाएको छ । जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश २ मा ५८ वटा संरचनाहरु रहेका छन्। यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको दूतावासले जनाएको छ ।
लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको विद्यालयको भवन निर्माण भएको लामोसमय भएको भएपनि उद्धघाटन भएको थिएन । विद्यालयको अन्य संरचना अभावका कारण सो भवन उद्धघाटन पुर्व नै प्रयोगमा आएको थियो ।

सम्बन्धित समाचार