Close This

मुल्य निर्धारण नहुँदै सर्लाहीका उखु किसानहरुद्धारा उखु काट्न सुरु,क्रसिङ उद्योग पनि सञ्चालनको तयारीमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-११ गते   १३७१ पटक हेरिएको

सर्लाहीका उखु उत्पादक किसानहरुले उखुको मुल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदे बाली लगाउन ढिलो भएकाले उखुको मूल्य निर्धारण नहुँदै जिल्लाका किसानहरुले उखु काट्न थालेका हुन ।
सरकारले उखुको समर्थन बिक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानहरुले उखु काट्न नहुने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।  उहाँका अनुसार उखुको मूल्य निर्धारण गर्न भन्दै केही दिनअघि भएको त्रिपक्षीय छलफल विना निष्कर्ष टुङ्गीएको र अहिलेसम्म उखुको मूल्य निर्धारण नहुँदा जिल्लाका उखु उत्पादक किसानहरुले उखु काट्न थालेका हुन ।
उखु उत्पादक किसानहरुले यस क्रसिङ सिजनका लागि उखुको न्यूनतम मूल्य प्रति–क्वुन्टल रु ६ सय ८० हुनु पर्ने भए पनि तत्कालका लागि रु ६ सय ४० मुल्य  कायम गरेर उद्योग सञ्चालन गर्न सुझाव दिइएको थियो । यता उद्योगले भने सरकारले पछि निर्धारण गरेको मूल्यमा उखु उत्पादक किसानहरुलाई भुक्तानी गर्ने गरी उखु क्रसिङको तयारी थालेको इन्दु शंकर चिनी उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताउनु भयो ।
उखुको मूल्यमा सहमति जुट्न नसके पनि चिनी उद्योगहरुले यसै हप्तादेखि उखु क्रसिङ गर्ने गरी उखु उत्पादक किसानहरुलाई धमाधम उखु कटाउने चलान पुर्र्जी वितरण गर्न थालिसकेका छन ।  उखुको मूल्य निर्धारण भइ नसकेकाले अगाडि नै उखु बिक्री गर्दा पछि किसानलाई भुक्तानीमा समस्या पर्ने उखु किसानका अगुवा राजकुमार उप्रेतीले बताउनु भयो ।
विभिन्न उखु उत्पादक किसानहरु सम्बद्ध सङ्घ–सङ्गठनले यस क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति–क्वुन्टल रु ६ सय ८० भन्दा माथि हुनुपर्ने र त्योभन्दा कम मूल्यमा सहमति गर्न नसकिने अडान लिएका छन् ।  पुषको १५ हुनै लाग्दा धेरै किसानहरुको उखु खेतमा सुक्न थाली सकेकाले किसानहरुले धमाधम उखु काट्न थालेका हुन ।
गएको वर्ष सरकारले उखुको प्रति–क्वुन्टल मुल्य रु ५ सय ३६ रुपैयाँ ५६ पैसा कायम गरेको थियो । त्यसमा उद्योगीहरुले रु ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले उखु किसानलाई अनुदान स्वरूप रु ६५ रुपैयाँ २८ पैसा भुक्तानी गरेको थियो । जिल्लाको इन्दुशंकर चिनी उद्योग हरिवन, महालक्ष्मी सुगर मिल बगदहले क्रसिङ सुरु गरेका छन् भने अन्नपुर्ण चिनी उद्योग किसानहरुको भुक्तानी गर्न नसकेर बन्द रहेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech