सर्लाहीका एक वडाअध्यक्ष सहित अरु ३ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा वडा अध्यक्ष र अरु २ जना वडा सदस्यहरुका विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका ११ का वडाध्यक्ष राम दुलार साह,वडा सदस्य सोनेलाल साह रौनियार र वडा सदस्य उमेश राय विरुद्ध विशेष अदालतमा(आज) शुक्रबार मुद्धा दायर गरिएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।
वडा अध्यक्ष साह सहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनु भयो । उनीसँगै वडा सदस्यद्वय सोनेलाल र उमेश विरूद्ध पनि भ्रष्टाचार गरेको आरोपमा मुद्धा भएको हो । ईश्वरपुर नगरपालिका ११ स्थित भलुवाई सडकमा ढलान गरेपछि उपभोक्ता समितिलाई काम सम्पन्न सिफारिस गरेबापत रु १ लाख ५० हजार घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले पाएपछि वडाध्यक्ष साह सहित तीन जनालाई जिल्लाको लालबन्दीबाट पक्राउ गरेको थियो ।
वडासदस्यद्वय सोनेलाल र उमेशलाई सेवाग्राहीबाट रु १ लाख ५० हजार रकम घुस लिइसकेको अवस्थामा कात्तिक २९ गते पक्राउ गरेको थियो भने अनुसन्धानबाट वडाध्यक्ष साहले पनि घुस मागेको भन्ने पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ । उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गर्न अख्तियारले मागदाबी गरेको छ ।