उखुको मुल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालन,नगदे बाली उधारो र ऋण बालीमा परिणत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१८ गते   ७० पटक हेरिएको

नेपाल सरकारले उखुको मुल्य निर्धारण नगरेपछि सर्लाहीका उखु उत्पादक किसानहरु उधारोमा चिनी उद्योगहरुलाई उखु बेच्न बाध्य भएका छन् । उखु उत्पादक किसानहरुले प्रति क्वुन्टल रु ६ सय ८० पाउनु पर्ने माग गरेको र सरकार र उखु उत्पादक किसानहरुसंग छलफल भएको भएपनि सरकारको ढिदा सुस्तीका कारण मुल्य निर्धारण नहुँदा किसानहरु उधारोमा उखु बेच्न बाध्य भएका छन् ।
जिल्लाका चिनी उद्योगहरुले उद्योग सञ्चालनका लागि सुचना जारी गरेर कुपन बाँड्न थालेपछि किसानहरुले उखु काटेर उद्योगलाई उधारो मै भएपनि विक्रि वतरण गर्न थालेका नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिल मुनी मैनालीले बताउनु भयो । उखु काट्न ढिलो भएको र सोक्षेत्रमा अरु बाली लगाउनु पर्ने भएका कारण पनि आफुहरुले मुल्य निर्धारण नहुँदा सम्म उखु नकाट्न नरोको अध्यक्ष मैनालीको भनाई छ । उहाँका अनुसार उखु काट्न ढिला हुँदा खेतमै सुक्ने डर तथा अर्काे बाली लगाउन पनि ढिला हुने भएकाले उखुको मूल्य निर्धारण नभए पनि किसान चिनी उद्योगलाई उखु दिन बाध्य भएका हुन्। 
जिल्लामा रहेका तीनवटा चिनी उद्योगहरु मध्य इन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ सुरु गरेको छ । उद्योग नियमित संचालनमा आएको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताउनुभयो । उहाँका अनुसार आफुहरुले किसानहरुलाई कुपन बाँँडेको र किसानहरुले उखु काटेर ल्याउँद उखु बोकेका ट्रक र ट्रयाक्टरले उद्योगको यार्ड भरिभराउ भएकोे छ । दैनिक ५० हजार क्वुन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको इन्दुशंकरले गत वर्ष २२ लाख १६ हजार क्वुन्टल उखु क्रसिङ गरेको प्रवन्धक रजकले बताउनु भयो । उहाँकाअनुसार सरकारले अहिले उखुको मुल्य निर्धारण नगरेको भएपनि सरकारले निर्धारण गरेको उखुको मुल्य इन्दु शंकर भुक्तानी गर्ने र विगतका वर्षहरुमा पनि इन्दु शंकरले किसानहरुकोभुक्तानी बाँकी नराखेको कारण कुपन बाँडे लगतै किसानहरुले उखु काटेर ल्याउन थालेका हुन ।
जिल्लाको गोडैता नगरपालिका स्थित बगदहमा रहेको महालक्ष्मी सुगर मिल पनि सञ्चालनको तयारीमा रहेको छ । ‘उद्योगका यार्डहरू किसानको उखु बोकेका सवारी साधनले भरिभराउ भएको गोडैता नगरपालिकाका नगर प्रमुख एवक किसान अगुवा देवेन्द्र यादवले बताउनु भयो । उहाँकाअनुसार सो उद्योगले गत वर्ष ८ लाख ९० हजार क्वुन्टल उखु क्रसिङ गरेको थियो। 
यता, जिल्लाकै धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल भने यसवर्ष पनि संचालनको तयारीमा छैन । उद्योगका संचालक राकेशकुमार अग्रवालसँग ज्ञानप्रसाद भट्टराई लगायतको समूहले यसै वर्षदेखि उद्योग सञ्चालन गर्नेगरी चिनी मिल खरिद गरेको भए पनि अहिलेसम्म नामसारी हुन नसक्दा सञ्चालन अन्योलमा परेको छ । सो उद्योग यसवर्ष संचालनमा आउने सम्भावना नरहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले बताउनु भयो ।
उखु उत्पादक किसानहरुको भुक्तानी दिन नसकेपछि उक्त उद्योग विगत दुई वर्षदेखि बन्द रहेकोथियो । गतवर्ष किसानहरुको बाँकी बक्यौता भुक्तानी गरे पनि उद्योगको स्वामित्व नामसारी लगायत प्रक्रियामा ढिलाइ हुँदा उक्त उद्योग यसवर्ष पनि सञ्चालनमा आउन नसक्ने सम्भावना बढेको छ ।
उखुको मूल्य तोक्ने काममा सरकार र उद्योगपतिले ढिलासुस्ती गरिरहेको उखु उत्पादक किसान महासंघका अध्यक्ष मैनालीको आरोप छ ‘हाम्रो तर्फबाट लागतका आधारमा उखुको मुख्य कम्तीमा प्रतिक्वुन्टल ६ सय ८० हुनुपर्ने मागसहित कृषि मन्त्रालयमा लिखित पत्र बुझाइसकेका छौं’, अध्यक्ष मैनालीले बताउनुभयो । ‘कृषि मन्त्रालयले उद्योग मन्त्रालयमा मुल्य तोक्ने विषयको फाइल पठाएको र उद्योग मन्त्रालयले पनि मन्त्रिपरिषदमा पेश गरिसकेको भन्ने सुनेका छौं।’उहाँको भनाई छ । 

गतवर्ष उखुको मुल्य रु ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकिएको थियो। जसमा उद्योगपतिले रु ४ सय ७१ रुपैयाँ २८ पैसा तथा नेपाल सरकारले रु ६५ रुपैयाँ २८ पैसा किसानलाई उपलब्ध गराएको थियो । देशकै सबैभन्दा बढी उखु खेती हुने सर्लाही जिल्लामा यसवर्ष करिब २५ हजार हेक्टर मेट्रिकटन उखु खेती भएको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।उद्योगपति र सरकार दुवैपक्षले वर्षौसम्म उखुको भुक्तानी उपलब्ध नगराउने प्रवृत्तिले नगदे भनिएको उखु खेती उधारो हुँदै ऋणे बालीको रुपमा परिणत भइरहको उखु उत्पादक किसानहरुका अगुवा रजकुमार उप्रेतीको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech