Close This

हुलाकी सडक अन्र्तगत वाग्मती नदीको पुल बनाउन पुनः ठेक्का आह्वान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२० गते   १६८० पटक हेरिएको

सर्लाही र रौतहटको सिमानामा बागमतीको विगत ११ वर्षदेखि अलपत्र परेको पुलको निर्माण कार्य सुरु हुने भएको छ । विगत ११ वर्षदेखि अलपत्र परेको पुलको बाँकी निर्माण कार्य  गर्न हुलाकी सडक आयोजनाले पुरानो ठेक्का रद्ध गरी नयाँ ठेक्का आह्वान गरेपछि पुल निर्माणको कार्य अघि बढ्ने भएको छ ।
पुरानो ठेक्का सम्झौता रद्द गरी करिब रु ८० करोडको लागतमा नयाँ ठेक्का आह्वान गरिएको आयोजनाका निर्देशक धर्मेन्द झाले जानकारी दिनु भयो । उहाँका अनुसार ‘लामो समय देखि अलपत्र परेको निर्माण कार्यका कारण त्यस क्षेत्रको लाइफलाइन नै अस्तव्यस्त बनेको थियो । वर्षातको समयमा स्थानीयलाई आवत जावतमा निकै सास्ती भएको थियो ।’ ‘यसअघि सम्झौता भएको निर्माण कम्पनीसँगको ठेक्का रद्ध गरिसकिएको र  अब नयाँ ठेक्का लागेपछि समयमै काम सम्पन्न हुनेमा हुलाकी सडक आयोजना विश्वस्त रहेको छ ।
आयोजनाका अनुसार तराई–मधेसका जिल्ला सदरमुकामलाई जोड्ने महत्वाकाक्षी परियोजना हुलाकी राजमार्ग अन्तर्गत वाग्मती नदीमा निर्माणाधिन अवस्थामा रहेको सो पुलको करिब ६० प्रतिशत काम सकिएको छ । यसअघि ठेक्का लिएको लुम्बिनी बिल्डर्स प्रालिले पुलको पिलर मात्र बनाएर पुल निर्माणको काम अलपत्र छाडि सम्पर्क बिहीन भएको थियो ।
रु ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ मा ठेक्का सकार गरेको निर्माण कम्पनीले वि.सं.२०७० जेठ ३० मा निर्माण सक्ने गरी वि.सं.२०६७ जेठ ३१ मा सम्झौता गरेको थियो । ६ सय ३३ मिटर लामो पुलमा १७ स्पान बनाउनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । तर सबै स्पान ठडिएपछि भने बाँकी काम अलपत्र परेको थियो ।
ठेक्का सकारेको लुम्बिनी बिल्डर्स प्रालिले  निर्माणको काम गर्न पप्पु कन्स्ट्रक्सनलाईदिएकोथियो । निर्माणकै क्रममा नदीले धार बदलेपछि वि.सं.२०७० मै काम अलपत्र छाडेर पप्पु कन्ट्रक्सन सम्पर्क बिहीन भएको हो । निर्माण कम्पनीले डिजाइन गलत भएको भन्दै एक तर्फीरुपमा ठेक्का रद्ध गरेको पत्र पठाएको आयोजनाले बताएको छ । पुल बन्न लागेको भन्दा करिब ८ सय मिटर पूर्वबाट नदी बग्न थालेपछि आयोजनाले पनि निर्माणको काम रोकेको थियो ।
पुलको प्राविधिक डिजाइन परिवर्तन गरेर स्पान थप्ने,नदी नियन्त्रणको काम, पुलको अप्रोच सडक बनाउने, बिम ढलान गर्नेलगायतको काम नयाँ ठेक्कामार्फत हुने आयोजना निर्देशक झाले बताउनु भयो । 
‘निर्माण कम्पनीहरूले टेन्डर हालेपछि २ महिनाजति सम्झौता लगायत प्रक्रिया पूरा गर्न लाग्नेछ,’ उहाँले बताउनु भयो ।‘ठेकेदारले निरन्तर काम गर्यो भने आगामी २ वर्षमा पुल निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ ।’ पुल निर्माण अलपत्र भएकै अवस्थामा एक वर्षअघि हुलाकी सडक निर्देशनालयको पहलमा अभियान कन्सल्टेन्ट काठमाडौंले ‘रिभ्यू’ गरेको थियो । विज्ञसहितको टोलीले स्थलगत अनुगमन गरेपछि नदीले धार परिवर्तन गर्दा समस्या आएको भन्दै पुलको उचाइ नपुग्ने र बढाउनुपर्ने सुझाव दिएको थियो । हाल उक्त टोलीको सुझाव अनुसार नयाँ ठेक्का मार्फत काम गर्न लागिएको आयोजनाले जनाएको छ ।
निर्माणकै क्रममा बाग्मती नदी पूर्णरुपमा सर्लाहीतिर बग्न थालेपछि समस्या भएको हो । अहिले पुलको स्पान नदि किनारमा छ । भने नदी अर्कैतिर बगिरहेको छ । यो पुल बनेपछि तराई–मधेसका जिल्ला एक आपसमा जोडिने र लाखौं स्थानीयलाई आवत जावतमा सहजता थपिने स्थानियले बताएका छन् । यसैलाई मध्येनजर गर्दै संसदीय समिति, जिल्ला प्रशासन कार्यालय, हुलाकी सडक आयोजनाले अनुगमन गरी निर्माण थाल्न पटक–पटक दबाब दिँदै आएका थिए ।
काम रोकेको ठेकेदार कम्पनीले भने क्षतिपूर्तिको माग गर्दै २ वर्षअघि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको फैसला गर्दै अदालतले पुल जुन अवस्थामा छ, त्यही अवस्थाबाट अर्को टेन्डरमार्फत काम गराउन आदेश दिएको थियो । अदालतकै आदेशअनुसार ठेकेदार कम्पनीलाई क्षति पूर्तिबापत पुरानो कामको भुक्तानी दिन लागिएको आयोजनाले जनाएको छ । स्पान निर्माण गरेवापत लुम्बिनी बिल्डर्सले रु २ करोड भन्दा बढी भुक्तानी लिन बाँकी रहेको आयोजना निर्देशक झाले बताउनु भयो ।
हुलाकी सडककै कारण पुल निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका विष्णु शर्माले बताए । उनका अनुसार काम बन्द भएपछि आयोजनाले नै समयमा ‘साइट’ उपलब्ध गराउन नसकेको र पुरानै दररेटमा काम गर्न नसक्ने भएपछि आफ्नो पक्षबाट ठेक्का तोडेको बताए ।  ‘निर्माणको काम सुरु गर्न लाग्दा स्थानीयस्तरमा अवरोध भएपछि करिब १३ महिना साइट उपलब्ध हुन नसकेको ठेकेदार कम्पनीको भनाई छ । ‘निर्देशनालयले काम सुरु गर्न भनेपछि युद्धस्तरमा आफुले काम शुरु गरेको भएपनि  नदीले धार बदलेपछि काम बन्द गरिएको ठेकेदार कम्पनीले बताएको छ । समयमै पुल बनेको भए सर्लाही र रौतहटवासीलाई आवत जावतमा निकै सहज हुने थियो । अहिले दुवै जिल्लावासी डुंगा चढेर वारपार गर्न बाध्य भएका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech