करिब ३ महिना पहिला ठेकेदारले अखाद्य पदार्थ खुवाएर २२ घन्टासम्म काममा लगाउँदा ज्यान गएका युवाहरुका आफन्तले अहिले सम्म पनि उजुरी दर्ता गर्न सकेका छैन्न । भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा कार्यरत युवाहरुलाई अखाद्य पदार्थ खुवाएर २२ घन्टासम्म काममा लगाउँदा ज्यान गएकाे थियाे । आफन्तकाे ज्यान ठेकेदारकाे लापर्बाहीले गएकाे भन्दै ठेकेदारकाे नाममा उजुरी हाल्न गएका पीडित पक्षलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले उजुरी दर्ता नगरि दिएकाे पीडित पक्षकाे गुनासाे छ ।
ज्यान गुमाएका युवाका परिवारलाई आरोपीको नाम हटाएर मात्रै जाहेरी ल्याउन जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाइले दबाब दिएका पीडित पक्षकाे गुनासाे छ । जाहेरी दर्ता गर्न महिनाैँ धाउदा पनि प्रहरी उपरीक्षक प्रसाईंले पीडितलाई दुई आरोपी सुनील राउत र इन्दल राउतको नाम हटाएर उजुरी ल्याउन प्रहरी उपरीक्षक प्रसाईंले दवाव दिएका पीडित पक्षकाे आराेप छ।
चन्द्रनगर गाउँपालिका ६ कामत गाउँका नन्दलाल माझी र जगदीश माझी तथा छिमेकी गाउँ ईश्वरपुर नगरपालिका ३ भक्तिपुरका सुमन भुजेलको गत कात्तिक ८ गते मृत्यु भएको थियो । उनलाई स्थानीय ठेकेदार इन्द्रजित राउत नेतृत्वको समूहले चिस्यान केन्द्र पुर्याएका थिए । विपन्न युवालाई ऋणमा फसाएर भारत लैजान इन्द्रजितलाई उनका छोरा सुनील, भाइ इन्दल र दाइ पर्ने रामसुरोजले समेत सघाएका थिए । पीडित परिवारले उनीहरूलाई समेत आरोपी किटान गरेका छन् । तर, प्रहरी उपरीक्षक प्रसाईंले सुनील र इन्दलको नाम काटेर मात्रै जाहेरी ल्याए दर्ता गर्ने भन्दै दबाब दिएका मृतक जगदिशका बुबा पीडित महिन्द्र माझीले कमलामाई खबरलाई बताए ।उनले भने
‘हामी जिल्ला प्रहरी कार्यालय पुगेका थियौँ । प्रहरीका हाकिमले सुनील र इन्दलको नाम हटाएर ल्याए मात्रै जाहेरी दर्ता हुन्छ, नभए जहाँ जानुपर्छ गए हुन्छ भनेर धपाए,’‘जो दोषी छ, उसैको नाम हटाएर पनि मुद्दा दर्ता गरेर न्याय मिल्छ ?’उनकाे प्रश्न छ ।
आरोपीको नाम नै हटाउन दबाब दिएर प्रहरीले सबैलाई चोख्याउन खोजेको पीडितहरूले बताएका छन् । उनीहरूका अनुसार तीन युवाको मृत्यु भएको समयमा सुनील र इन्दल भारतमै रहेका थिए । रामसुरोज भने नेपालमा थिए । घटनाअघिसम्म भारतमै रहेका इन्द्रजित पनि मृतकहरूको शव घर ल्याउनुअघि नै नेपाल आइपुगेका थिए । कात्तिक ९ र १० गते तीन शव र सात बिरामी नेपाल ल्याइएकाे थियाे । घटना हुँदा भारतमा रहेकालाई आरोपी किटान नगरेपछि नेपालमा रहेकालाई चोख्याउन सकिने रणनीतिअनुसार प्रहरी उपरीक्षक प्रसाईंले आफूहरूलाई दबाब दिएको पीडितको गुनासो छ । ‘घटनाका पीडकलाई जोगाउने र मुद्दा कमजोर बनाउने दाउ देखियो,’ महिन्द्रले भने ।
मृतकका परिवारसँगै बिरामी हालतमा फर्काइएका र अझै भारतमै बन्धक पारिएका २२ युवाका परिवार पनि जाहेरी दिन गएका थिए । बिरामी अवस्थामा फर्काइएका मञ्जय माझीका काका तथा अझै बन्धक रहेका फेकु माझीका दाइ पर्ने मोहिचन माझीले प्रहरी हाकिमबाट हप्की खाएर फर्किएको गुनासो गरेका छन्।
‘मेरो भतिजा मञ्जय भाग्यले बाँचेर बिरामी हालतमा आयो । भाइ फेकुलाई अझै ठेकेदारले भारतमै बन्धक बनाएर राखेको छ । कुनै सम्पर्क छैन,’ उनले भने, ‘उनीहरूको न्यायका लागि जाहेरी लिएर जाँदा प्रहरीले दुई पीडकको नाम हटाउनु भन्यो । सुनील र इन्दलको नाम हटाएर आए मात्र मुद्दा दर्ता गर्छु, होइन भने दर्ता हुँदैन, जहाँ जानुहुन्छ जानुस् भनेर पठाए । हामी निराश भएर फर्कियौँ ।’
यसअघि पटकपटक जाहेरी लिएर जाँदा प्रहरी उपरीक्षक प्रसाईंले आफू सर्लाहीमा रहुन्जेल मुद्दा दर्ता नगर्ने भन्दै पीडितलाई धम्क्याउने गरेका छन् । उनले भारतमा घटना भएकाले ठेकेदार विरुद्ध मुद्दा नै दर्ता नहुने र अनुसन्धान पनि गर्न नसक्ने जवाफ बताए छन् । आरोपीको नाम हटाएर जाहेरी दिन तपाईंले दवाद दिनु भएको हाे ? भन्ने कमलामाई खबरकाे प्रश्नमा प्रहरी उपरीक्षक प्रसाईंले आराेपित मध्य एक जनाकाे मात्र नाम राखेर ल्याउनु भनेकाे बताउनु भयाे ।