सर्लाहीको हरिपन नगरपालिका ४ सासापुरमा गत शुक्रबार राती १ जना पैदलयात्रीको ज्यान जाने गरी भएको दुर्घटना पछि फरार सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार राती करिब ८ बजे पूर्व–पश्चिम लोकमार्गस्थित हरिवन नगरपालिका ४ सासापुर स्वास्थ्य चौकी अगाडि नम्वर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिँदा सोहि स्थानका अन्दाजी ४० वर्षीय रामबली रामको घटनास्थलमै ज्यान गएको थियो । प्रहरीले निरन्तर अनुसन्धान गर्दै जाँदा रामबलीलाई सिरहाबाट काठमाडौं चल्ने ना ७ ख ६३९ नम्वरको रात्री बसले ठक्कर दिएको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनापछि फरार रात्री बस र त्यसका चालकलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनु भयो । उहाँका अनुसार बस र बसका चालक नवीन लामालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको छ । प्रहरीले बस र चालक पहिचान गरेर नियन्त्रणमा लिएपछि मृतकका परिवारले जिल्ला अस्पताल मलंगवा सर्लाहीमा रहेको आफन्तको शव बुझेका छन् ।