सर्लाहीको ईलाका प्रहरी कार्यालय लालबन्दीले डिजिटल तराजुमा रिमोट सेट गरी उपभोक्ता ठग्ने कवाडी व्यापारीलाई संरक्षण गरेको रहस्य फेला परेको छ ।असार १२ गते लालबन्दी नगरपालिका–१२ मा डिजिटल तराजुमा रिमोट सेट गरि कवाडीको कारोवार गरि रहेको सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले तत्काल नम्बर नखुलेको अटो सहित एक जना कवाडी व्यापारीलाई नियन्त्रणमा लिएको भएपनि रातारात कुनै कार्बाही नगरी छाडिनुले ईलाका प्रहरी कार्यालय लालबन्दीको संरक्षणमा उपभोक्ता ठग्ने काम भएको प्रस्ट भएको हो ।
कवाडी व्यापारीले डिजिटल तराजुमा रिमोट प्रणाली जडान गरी तौलमा हेरफेर गरेर उपभोक्तालाई ठगी गरिरहेको अवस्थामा लालबन्दी नगरपालिका–१२ का स्थानीयले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाएका भएपनि ईलाका प्रहरी कार्यालय लालबन्दीको मुद्धा शाखाका असई संजीव सिंहले आर्थिक लाभ लिएर राज्यको कुनैपनि नीतिगत हिसाबले कार्बाही गर्नुको सट्टा सुटुक्क छाड्नुले इलाका प्रहरी कार्यालय लालबन्दीले उपभोत्ता ठग्ने ठगहरुलाई संरक्षण गरेको प्रष्ट हुन्छ ।
“कवाडी खरिद गर्ने क्रममा वास्तविक तौलभन्दा कम तौल देखाइएपछि शंका लागि नियन्त्रणमा लिएर डिजिटल तराजुमा रिमोटको प्रयोग गरिएको फेला पारेपछि प्रहरीलाई खबर गरौँ,प्रहरी आएर मानिसलाई समेत नियन्त्रणमा लियोे तर कार्बाही के भयो थाहा छैन।”स्थानीयले बताए ।
फलाम,तामा,पित्तल,एल्मुनियम तथा अन्य कवाडी सामाग्री खरिद गर्न आउने व्यपारीहरुले सर्वसाधारण नागरिकहरुलाई आर्थिक रूपमा ठग्ने गरेका तथ्य फेला परेको भएपनि प्रहरीले आर्थिक लाभ लिएर सुटुक्क छाड्नुले प्रहरीको मिलेमतोमा डिजिटल तराजुमा रिमोट सेट गरी ठग्ने काम गरिएको स्थानीयको आरोप छ ।
सो विषयमा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक श्याम थापा मगरलाई सोध्दा उनले डिजिटल तराजुमा रिमोट फिट गरेको पाईएको र ईलाका प्रहरी कार्यालय लालबन्दीमा मानिस सहित ल्याएपनि पीडितले जाहेरी नदिएपछि छाडिएको बताए। प्रहरीको मिलेमतो छ भन्ने आरोप छनी ? भन्ने प्रश्नमा उनले प्रहरीको मिलेमतो नरहेको दावी समेत गरे ।
यता,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नापतौलसम्बन्धी कानुनी व्यवस्था अनुसार प्रमाणित नभएको वा जानीजानी हेरफेर गरिएको तौल उपकरण प्रयोग गरी उपभोक्तालाई ठगी गर्नु कानुन विपरीत मानिन्छ।तराजुमा तौल तलमाथि (कम वा बढी) देखिने गरी मिलावट,छेडछाड वा जालसाजी गरिएको पाइए स्टाण्डर्ड नाप र तौल ऐन,२०२५ अनुसार तौलमा जालसाजी गर्ने,गलत तौल प्रयोग गर्ने वा म्याद नाघेको तराजु प्रयोग गर्ने व्यक्तिलाई जरिवाना,उपकरण जफत तथा अन्य कानुनी कारबाही हुने व्यवस्था छ।उपभोक्ता संरक्षण ऐन,२०७५ अनुसार कम तौल दिएर उपभोक्तालाई ठगी गर्नु अनुचित व्यापारिक कार्य भएको मानिने र दोषी व्यवसायीलाई जरिवाना,क्षतिपूर्ति,व्यवसाय बन्द गराउने वा अन्य कानुनी कारबाही हुने कानूनी व्यवस्था छ ।
त्यसैगरी,मुलुकी अपराध संहिता,२०७४ अनुसार तौलमा जालसाजी गरी ठगी गरिएको प्रमाणित भएमा ठगी सम्बन्धी कसुर अन्तर्गत समेत मुद्दा चल्ने,व्यवहारमा यस्तो कसुरको अनुगमन तथा कारबाही मुख्य रूपमा नेपाल गुणस्तर तथा नापतौल विभाग,स्थानीय प्रशासन तथा सम्बन्धित नियामक निकायले गर्ने व्यवस्था छ।जहाँ १० हजार सम्म जरिवाना र एक वर्ष सम्म कैद सजाय हुने व्यवस्था छ।यसका साथै विद्युतीय कारोवार ऐन २०६४(संसोधन सहित) समेत आकर्षित हुने कानून व्यवसायीहरु बताउछन् ।
उपभोक्ता अधिकारकर्मीहरूले तराजुमा रिमोट जडान गरी तौल घटाउनु केवल उपभोक्ता माथिको आर्थिक ठगी मात्र नभई निष्पक्ष व्यापारको सिद्धान्त विपरीतको गम्भीर अपराध भएको उपभोक्ता अधिकारवादीहरु बताउँछन्।जिल्ला प्रशासन कार्यालय,नापतौल कार्यालय,स्थानीय तह तथा प्रहरी प्रशासनले संयुक्त रूपमा आकस्मिक अनुगमन सञ्चालन गर्नुपर्ने आवश्यकता उपभोक्ता अधिकारवादीहरुले औँल्याएका छन्।