Close This

सर्लाहीमा बेमौसमी वर्षाका कारण रु ३५ करोडको इँटा नष्ट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-२४ गते   २३६० पटक हेरिएको

विगत दुई दिनदेखि परेको बेमौसमी वर्षाका कारण सर्लाहीका इँटा व्यवसायीहरू मारमा परेका छन् ।लगातारको वर्षाले जिल्लाका इँटा व्यवसायीहरूमा ठूलो क्षेती पुर्याएको उनिहरुको गुनासो छ ।
दुई दिन परेको बेमौसमी वर्षाले जिल्लामा रहेका इँटा उद्योगहरुमा करोडौँ मूल्यको इँटा नष्ट भएको तारा इँटा उद्योगका सञ्चालक प्रकाश थपलियाले बताउनु भयो । उहाँका अनुसार पानीले इँटा उद्योगहरुमा चाङ लगाएर राखिएको काँचो इँटा भिजेर नष्ट भएको छ । 
जिल्लामा रहेका ९३ वटा इँटा उद्योगहरुमा बेमौसमी वर्षाले करिब रु ३५ करोड मुल्य बराबरको क्षेती पुगेको सर्लाही इँटा उद्योग व्यवसायी संघका अध्यक्ष मेथुर चौधरीले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्लामा रहेका ९३ वटा इँटा उद्योग मध्य ८४ वटा इँटा उद्योग हाल सञ्चालनमा रहेका छन् भने ९ वटा इँटा उद्योगहरु हाल बन्द रहेका छन् । हाल सञ्चालनमा रहेका इँटा उद्योगहरुमा तयारी अवस्थामा रहेको र काँचो इँटा गरी करिब रु २५ करोडको क्षेती पुगेको अध्यक्ष चौधरीले बताउनु भयो । 
 जिल्ला समन्वय समिति सर्लाहीका सभापति समेत रहनु भएका चौधरीको हरिपुर नगरपालिकाको लक्ष्मीपुरमा आफ्नै दुईवटा इँटा उद्योग रहेका छन् । जहाँ करिब रु ७५ लाख बराबरको इँटा नष्ट भएको छ । जिल्लामा रहेका इँटा उद्योगहरुमा प्रति इँटा उद्योग करिब रु ३५ लाखदेखि रु ७५ लाखसम्म नोक्सान भएको अध्यक्ष चौधरीले बताउनु भयो । 
काँचो इँटाको बिमा नहुँदा जिल्लाका सबै इँटा व्यवसायी मारमा परेका उहाँले बताउनु भयो । बिमाकै कारण व्यवसायीहरू बर्सेनि करोडौंको नोक्सानी व्यहोर्न बाध्य भएका छन् । इँटा तयार गरी इँटा उद्योगमा पोल्न तयारी गरिएको अवस्थामा अचानक पानी पर्दा करोडौंको काँचो इँटा गलेर नष्ट भएको हो। जिल्लाभरिमा प्राप्त तथ्यांकअनुसार करोडौंको संख्यामा काँचो इँटा नष्ट भएको व्यावसायीले बताएका छन् ।
एक÷दुई दिनभित्रै धेरै इँटा उद्योग बन्द हुने अवस्था सृजना भएको युनिक इँटा उद्योगका सञ्चालक बासु सापकोटाले बताउनु भयो । उहाँका अनुसार सरकारले इँटा व्यवसायीहरूलाई बेवास्ता गरेका कारण आफुहरुले बर्सेनि करोडौंको क्षति बेहोर्नु परेको छ । सरकारले काँचो इँटाको बिमा गरिदिएको भए केही राहत हुने तारा इँटा उद्योगका सञ्चालक थपलियाको भनाई छ । वर्षाले प्रत्येक इँटा उद्योगमा तयार पार्दै गरेको काँचो इँटा नष्ट भएपछि जिल्लामा अब केही समय निर्माणका कार्यहरु प्रभावित हुने देखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech