लालबन्दीका १३ निजी स्वास्थ्य संस्थाको अनुगमन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-११ गते   १८०४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले नगर भित्रका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन शुरु गरेको छ । पछिल्लो समय नागरिकहरुबाट निजी स्वास्थ्य संस्थाहरु प्रति धेरै गुनासो आउन थालेको र निजी स्वास्थ्य संस्थाहरुको गैर कानुनीपना बढ्दै गएको पाइएपछि अनुगमन शुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 
जिल्लामा २० वटा स्थानिय निकाय रहेका भएपनि लालबन्दी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन शुरु गरेको हो । जिल्लामै पहिलो पटक निजी स्वास्थ्य संस्थाहरुको अनुगमन शुरु गरिएको  नगर स्वास्थ्य शाखाका संयोजक मम्ताज मिकरानीले बताउनु भयो ।
उहाँका अनुसार अनुगमनको क्रममा आवश्यक जनशिक्त,प्रक्रिया,कागजात नपुगी÷नपुर्याइ सञ्चालनमा रहेका तथा पोलिक्लिनिकको नाममा अस्पताल,क्लिनिकको नाममा अस्पताल सञ्चालन गरि बेड राखेका,औषधी विक्रि वितरण गर्ने जनशक्ति नराखेका पाइएको र त्यस्तालाई आवश्यक कार्बाहीका लागि तत्कालै बन्द गरिएको छ । समस्या देखिएका निजी स्वास्थ्य संस्थाहरुलाई तत्कालका लागि बन्द गरिएको र प्रक्रियामा आउनु आग्रह गरिएको नगर स्वास्थ्य शाखा सह संयोजक सुरेन्द्र खतिवडाले बताउनु भयो ।
लालबन्दी नगरपालिका १,२ र ७ मा सञ्चालीत १३ वटा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको र अरु निजी स्वास्थ्य संस्थाहरुको पनि निरन्तर अनुगमन गरि आवश्यक कार्बाही गर्ने प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेनाले जानकारी दिनु भयो । उहाँका अनुसार नगर स्वास्थ्य शाखा र स्थानिय जनप्रतिनिधिहरुको संयुक्त टोलीले जिल्ला मै पहिलो पटक निजी स्वास्थ्य संस्थाहरुको अनुगमन शुरु गरेको हो ।
सर्लाही डेन्टल क्लिनिक,संजिवनी डेन्टल क्लिनिक,रवी डेन्टल क्लिनिक,आरोही डेन्टल क्लिनिक,ग्लोबल आँखा तथा दाँत उपचार केन्द्र,एभरेष्ट डेन्टल क्लिनिक,सिटी हेल्थ केयर प्रालि,संजय कुमार औषधालय,गाउँमैत्री बाल अस्पताल,गणपति अस्पताल,ओमनिका हेल्थ केयर प्रालि,श्रीराम औषधालय र सत्यनाम हेल्थ केयर प्रालि गरी १३ वटा निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।  जिल्लामा पछिल्लो समय निजी स्वास्थ्य संस्थाहरु अवैध रुपमा खुल्ने क्रम बढेको पाईएको जिल्ला जनस्वास्थ्य कायार्यलय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech