नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सत्तारूढ दल नेपाली कांग्रेसलाई ठूलो पार्टी हुनुमा घमण्ड नदेखाउन आग्रह गर्नुभयो । बुधवार काठमाण्डौमा आयोजना भएको माओवादी केन्द्रबाट निर्वाचित स्थानिय निकायका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चुनावमा ठूलो दल भएकोमा घमण्ड र अहङ्कार नदेखाउन कांग्रेसलाई आग्रह गर्नुभयो । उहाँले विगतमा नेकपा(एमाले)लाई अहङ्कार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहङ्कार आउने हो कि भन्ने आशंका उत्पन्न भएको बताउनुभयो ।
अध्यक्ष दाहालले कांग्रेसमा घमण्ड र अहङ्कार चुलिएर माओवादी केन्द्रलाई केही पनि होइन भने एमालेलाई जस्तै ठेगान लगाउने चुनौती दिनुभयो । उहाँले ‘हामीलाई मानिसहरूले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन् । माओवादी केन्द्र आफैँ त केही गर्दैन कहिले एमालेलाई ठूलो बनाउँछ, कहिले कांग्रेसलाई ठूलो बनाउँछ भन्छन् । कहिले एमालेको दम्भ बढाइदिन्छ, अहङ्कार बढेर चरम चुलीमा पुग्छ र कसैलाई मान्छे नगन्ने बनाइदिन्छ, कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ हामी माओवादी केन्द्रलाई । हिजो एमालेसँग गठबन्धन गर्दा उसलाई यति धेरै अहङ्कार आयो कि उसले नेतृत्वमा सबै हामी नै हो भनेजस्तो ग¥यो । हामी एमालेविरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुग्यौँ । अहिले कांग्रेस पनि फेरि त्यस्तै होला कि भन्ने आशंका देखिएको छ । कांग्रेसमा पनि एमालेजस्तै अहङ्कार र दम्भ चुलिएर माओवादी केन्द्र केही नि होइन भन्यो भने उसलाई पनि एमालेलाई जस्तै ठेगान लगाइदिने दिन नआओस् ।’ बताउनु भयो ।
अध्यक्ष दाहालले काठमाण्डौ र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले माओवादी केन्द्रलाई पाठ सिकाएको बताउनुभयो । चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादी केन्द्रको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका उहाँले जिकिर गर्नुभयो । उहाँले देशमा अझै कैयौँ दशकसम्म पार्टीहरूले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताउनुभयो ।
अध्यक्ष दाहालले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रूपमा नलिन पनि चेतावनी दिनुभयो । उहाँले माओवादी केन्द्रले जितेका स्थानिय निकायहरुमा पार्टीको आधार इलाका हुने गरी काम गर्न निर्देशन समेत दिनुभएको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक एवम हरिवन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिनु भयो ।
नेकपा(माओवादी केन्द्र)ले देशभरबाट जितेका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बुधबारबाट प्रशिक्षण सुरु गरेको छ । माओवादी केन्द्रले राज्य सञ्चालनका नीति लगायतका विषयमा प्रशिक्षण सुरु गरेको हो ।