सर्लाहीको पूर्व–पश्चिम लोकमार्गका खाल्डाखुल्डी पुर्न ढिलाई गर्दा दुर्घटनाको जोखिम बढेको छ । पिच सडक उप्किएर खाल्डो परेको ठाउँमा धूलो उड्दा यात्रु र सडक छेउछाउ घर तथा व्यावसाय भएकाहरुले सास्ती खेपिरहँदा दुर्घटनाको जोखिम समेत बढेको हो । चौबिसै घण्टा सवारी साधन दौडिने पूर्व–पश्चिम लोकमार्गलाई संवेदनशील मानिएपनि सरोकारवाला निकायको ध्यान नजाँदा दुर्घटनाको जोखिम बढ्नुको साथै सवारी जाम हुने गरेको छ ।
लोकमार्गको लालबन्दीस्थित क्याम्पस चौक, नवलपुर बजार क्षेत्र, हरिवन नगरपालिकाको नयाँरोड लगायतका स्थानमा पिच भत्किएर ठूल्ठूला खाल्डाखुल्डी परेका छन् । ती खाल्डाखुल्डीमा परेर मोटरसाइकल लगायतका साना सवारी साधन अनियन्त्रितभई दुर्धटना हुने गरेका ट्राफिक प्रहरीको भनाई छ ।
यस्तै, तीव्र गतिमा आएका सवारी साधन एक्कासी खाल्डो अगाडि बे्रक लगाउँदा पछाडिबाट अर्को सवारी साधन ठोक्किएर दुर्घटना हुनेक्रम पनि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक कोदार मान दोङले बताउनु भयो । यस्तै, पूर्व–पश्चिम लोकमार्गस्थित जिल्लाको लखन्देही खोलाको पुल दिनहुँ जिर्ण बन्दै गइरहेको छ ।
पुलमा खाल्डाखुल्डी परेर सवारी साधन विस्तारै पार हुनुपर्दा दिनहुँ सवारी साधनहरुको जाम लाग्ने गरेको छ । पुल जिर्ण हुँदा त्यहाँ पनि सवारी दुर्घटनाको उत्तिकै जोखिम रहेको ट्राफिक प्रहरीले जनाएको छ । दैनिक हजारौँ सवारी साधनहरु ओहोरदोहार गर्ने राजमार्गको पुल मर्मतका लागि कसैले चासो नदेखाएको भन्दै यात्रुहरुले गुनाासे गरेका छन् ।
लोकमार्गका खाल्डाखुल्डी मर्मत गर्ने तयारी भएपनि अलकत्र हाल्न पर्याप्त तापक्रम नपुगेकाले ढिलाई भइरहेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख दरोगा प्रसाद साहले बताउनु भयो । उहाँका अनुसार केही दिनमै सो सडक तथा पुलमा मर्मतको काम हुने छ ।