आज आयाेजक र एनआरटी आम्ने साम्ने हुँदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-८ गते   २२७८ पटक हेरिएको

 सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) काे तेस्राे क्वाटरफाईनल खेलमा आयाेजक बागमती युवा क्लब र न्यूराेड टिम (एनआरटी) काठमाडाैंबीच प्रतिस्पर्धा हुँदैछ ।
मंगलबार दिउँसो साँढे ३ बजे बागमती नगरपालिका  १२ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा दुई टिमबीच खेल  हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले  जानकारी दिनुभयाे । यसअघि प्रि-क्वाटरफाईनल खेलमा केबीए ग्लोबल बीएफसी चितवनलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकाे एनआरटी र बाईमा परेकाे आयाेजक बागमती युवा क्लबबीचकाे खेल प्रतिष्पर्धात्मक हुने आयाेजकले अनुमान गरेकाे छ । बागमती युवा क्लबले केही दिनअघि धनगढीमा भएकाे खप्तड गाेल्डकपमा एनआरटीलाई हराईसकेकाे हुँदा आयाेजक टिम आजकाे खेल पनि जित्नेमा ढुक्क देखिएकाे बागमती युवा क्लबका महासचिव सागर मैनालीले बताउनु भयाे । त्यस्तै एनआरटी पनि खप्तडमा बागमतीसँग हारेकाे बदला फिर्ता लिने तयारीका साथ मैदानमा उत्रने निश्चित छ । खेल जसरीपनि जीत्नैपर्ने पक्षमा आयाेजक टिम देखिन्छ । 
प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत गरि १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम (एनआरटी) काठमाडाैं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ स्पाेर्ट क्लब धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक र  विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुनले भाग लिएका छन् । 
जसमध्ये  ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक,नेपाल आईस हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग, केबीए ग्लोबल बीएफसी चितवन एनआरटीसँग, एपीएफ क्लब एभिनिर फुटबल क्लब क्यामरुनसँग,नेपाल आइस हिमालयन शेर्पा क्लब काठमाडाैं पिप्ले युवा क्लब हेटाैंडासँग र पुलिस क्लब सुदूरपश्चिम-११,स्पाेर्ट क्लब धनगढीसँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । मधेश प्रदेश कै सर्वाधिक धनराशिकाे प्रतियोगिताको  बिजेताले रु १० लाख १ हजार र उपबिजेताले रु ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने आयाेजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद रु २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद रु १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजकले जनाएको छ । चैत २ गतेबाट शुरु भएको  प्रतियाेगिताकाे फाईनल खेल चैत १३ गते सम्म सञ्चालन हुनेछ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech