नेकपा(माओवादी केन्द्र)सर्लाहीले जिल्लाका विभिन्न सात स्थानमा राँके जुलुस निकालेको छ । बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,उप प्रमुख लीला कुमारी मोक्तान लगायत अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई झुटा वन मुद्दा दायर गरेपछि आक्रोसित भएको माओवादी केन्द्रले आन्दोलनका कार्यक्रमहरु घोषणा गरि सोही अनुसार सोमबार बेलुका मसाल जुलुस निकालेको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले जानकारी दिए।उनले अहिलेको गठबन्धन सरकारले बागमती नगरपालिकाका नगर प्रमुख थापा,उप प्रमुख मोक्तान लगायत अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई झुटा वन मुद्दा दायर गरे फसाउने षडयन्त्र गरेपछि आफुहरु बाध्य भएर आन्दोलीत भएको बताए ।

चरणवद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत माओवादी केन्द्र सर्लाहीले सोमबार साँझ पूर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी,हरिवन र बागमती तथा जिल्ला सदरमुकाम मलंगवा,बरहथवा, गोडैता र हरिपुरमा मसाल जुलुस निकालिएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज काफ्लेले बताए । गठबन्धन सरकारले बागमती नगरपालिकाका नगर प्रमुख थापा,उप प्रमुख मोक्तान लगायत अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई झुटा वन मुद्दा दायर गरेपछि पहिलो चरणमा पाँच दिनको समय दिएर जिल्ला प्रशासन कार्यालय मलंगवा,डिभिजन वन कार्यालय लालबन्दी सर्लाही,सागरनाथ वन विकास परियोजना सर्लाही,मधेश प्रदेशका मुख्य मन्त्रीका साथै वन तथा वातावरण मन्त्रालय र संघीय वन तथा वातावरण मन्त्रालयलाई ज्ञापन पत्र सहित सो विषयको विवरण पेश गरिएको भएपनि सरोकारवाला निकाय त्यसप्रति मौन देखिएपछि आन्दोलनका कार्यक्रमहरु अन्र्तगत मोटरसाईकल र्याली सहित डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा धर्ना,दोस्रो दिन सोमबार साँझ मसाल जुलुस निकालीएको र भोलि(मंगलबार) पूर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको बागमतीमा विशाल जनसभाको आयोजना रहेको माओवादी केन्द्रका स्थायी कमिटि सदस्य प्रल्हाद कुमार बुढाथोकीले जानकारी दिए ।
उनले संघीय वन तथा वातावरण मन्त्रालय र मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयले बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन अवस्थामा रहेको बागमती माछा पोखरी (भरत ताल) र आसपासको क्षेत्रमा बसोबास गरि रहेका भूमिहिन,सुकुम्बासी,दलित तथा अव्यवस्थित बसोबासीहरुले सागरनाथ वन विकास परियोजना सर्लाहीको वन क्षेत्र नष्ट गरेका भन्ने अभियोगमा नगर प्रमुख थापा,उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरु माथि झुटो वन मुद्धा दायर भएपछि राजनीतिक प्रतिसोधका कारण फसाउने षड्यन्त्र भएको भन्दै माओवादी केन्द्र सर्लाहीले त्यसको कडा रुपमा प्रतिवाद गर्ने र तथ्यमा आधारित भए माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु मुद्धा खेप्न तयार रहेका तर अनावश्यक राजनीतिक प्रतिसोध साँध्न झुटो वन मुद्धा दायर गरिएकाले मुद्धा खारेज नहुँदा सम्म आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी रहने र थप शसक्त आन्दोलन गर्ने समेत बताए ।
विभिन्न तथ्यहरुले सो क्षेत्र सागरनाथ वन विकास परियोजनाको क्षेत्र नपर्ने,परियोजनाको राजपत्रमा प्रकाशित नक्सामा समेत सो क्षेत्र नपर्ने साथै सो क्षेत्र बागमती नदीको उकास क्षेत्र रहेको भएपनि बागमती नगरपालिकाको विकास देख्न नसक्ने विकास विरोधीहरुले बागमती नगरपालिकाका नगर प्रमुख थापा,उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई फसाउने षडयन्त्र रचेका कारण स्थानीय भूमिहिन,सुकुम्बासी,दलित तथा अव्यवस्थित बसोबासीहरु आक्रोसित भएका माओवादी केन्द्र सर्लाहीले जनाएको छ । सागरनाथ वन विकास परियोजना सर्लाही अन्तर्गतको मुर्तिया वन क्षेत्रमा तिनै तहको सरकारबाट वजेट विनियोजन गरी बागमती माछापोखरी निर्माणाधिन अवस्था रहेको,२०६६ साल सम्ममा सो क्षेत्र पुर्ण रुपमा अतिक्रमण भई सकेको साथै देश संघीय संरचनामा गएपछिको पहिलो स्थानीय तहहको निर्वाचन २०७४ मा निर्वाचित जनप्रतिनिधिहरुमाथि राजनीति प्रतिसोध साँध्ने गरी वन सम्बन्धी झुटो मुद्धा दायर गरेर बागमती नगरपालिकाको विकास निर्माणका साथै आन्तरीक आय स्रोत(राजश्व) र रोजगारी सृजना भएको स्थानीय बताउँछन् ।
सो पोखरीबाट संकलन भएको राजश्वको ३० प्रतिशत मधेश प्रदेश सरकारले पाउने गरेको भएपनि बागमती नगरपालिकाका नगर प्रमुख थापा सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई मात्रै मुद्धा लगाउने निर्णय गर्नुले अन्य कुनै वाहना नभई राजनीतिक प्रतिसोध मात्रै रहेको भन्दै स्थानीय आक्रोसित भएका छन् ।
परियोजनाको २०६६ मा भएको निर्णयमा के छ ?
सागरनाथ वन विकास परियोजना सर्लाहीका तत्कालीन प्रमुख जिवन कुमार ठाकुर उप सचिवद्धय तिर्थराज चन्द र विनोद कुमार मानन्धर,लेखा अधिकृत गंगाराम भण्डारी र तत्कालीन आन्दोलनरत पक्षका प्रतिनिधि शंकर थापाका साथै दोस्रो पक्ष विच भएको छलफलमा “सागरनाथ वन विकास परियोजना सर्लाही अन्र्तगतको मुर्तिया क्षेत्रमा घर निर्माण र खेतीपाती लगायतको व्यक्तिगत प्रयोजनमा प्रयोग भए गरेको देखिएको सम्वन्धमा आवश्यक कदम उठाउन वन तथा वातावरण मन्त्रालय,गृह मन्त्रालय,भूमी व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालय लगायतको सम्बन्धित मन्त्रालय,निकाय र कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा २८ को उपदफा (१) को देहाय (ख) बमोजिम सुझाव लेखी पठाउने लगायतका २०६६ चैत्र २७ गते निर्णयहरु भएको थियो ।सोही समयमा परियोजना प्रमुख ठाकुरले प्रस्तुती दिएको प्रतिवेदनमा मुर्तिया क्षेत्रको दुई हजार सात सय ५० हेक्टर वन पुर्ण रुपमा नष्ट भएको,सुकुम्बासी परियोजनाले सबै क्षेत्र अतिक्रमण भएको साथै परियोजनाका कर्मचारीहरुबाट परियोजना संरक्षण गर्न नसकिएको र मुर्तिया क्षेत्रको तीन हजार ५२ हेक्टर वृक्षारोपण मध्य दुई हजार सात सय ५० हेक्टर अतिक्रमण भई सकेको उल्लेख गरिएको थियो ।परियोजनासंग आफ्नो क्षेत्रको वास्तविक नक्सांकन समेत नरहेको रबागमती माछा पोखरी निर्माण भई रहेको साथै नगर वगैँचा रहेको क्षेत्र नदी उकास क्षेत्र रहेको स्थानीय बताउँछन् ।