सर्लाहीको धनकौल गाउँपालिका ५, हरकठवा पासवान बस्तीका अग्नीपीडित परिवारलाई राहत स्वरुप खाद्यान्न लगायत विभिन्न सामग्री सहयोग प्राप्त भएको छ । मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह,नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको पहलमा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो । उहाँका अनुसार मन्त्री सिंह,सभापति सिंह र सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सहितका सुरक्षा अधिकारी र अन्य सरोकारवालाहरुले बस्तीमै पुगेर राहत सामग्री वितरण गरेका हुन ।
नेपाल रेडक्रस सोसाइटी मलंगवा,सर्लाही,बागमती सेवा समाज र वल्र्ड भिजन इन्टरनेस्नल नेपालसँग समन्वय गरेर आगलागी पीडितका लागि ३० थान त्रिपाल, ३० थान कम्बल, एक÷एक बोरा चामल, भाँडाकुँडा, लक्ता कपडा लगायतका राहत सामग्री वितरण गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो ।
त्यस्तै गत शनिबार साँझ पनि मन्त्री सिह र नेपाली कांग्रेस सर्लाहीका सभापति सिंहले त्रिपाल, कम्बल, चामल, दाल, चिउरा, तेल, ग्याँस सिलिण्डर, औषधी लगायतका राहत सामग्री वितरण गरेका मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीले जानकारी दिनु भयो ।
मन्त्री सिंहका दाजुभाई मिलेर अग्नीपीडित परिवारहरुका लागि २५ थान कम्बल, २५ थान त्रिपाल, चामल, दाल, चिउरा, तेल, ग्याँस सिलिण्डर, औषधी सहित प्रति परिवार रु ५÷५ हजार नगद् पनि सहयोग गर्नु भएको थियो । गत शनिबार दिउँसो आगलागीमा परेर धनकौल पासवान बस्तीका १३ वटा घर पूर्णरुपमा जलेका थिए भने एउटा घरमा आंशिक क्षति पुगेको थियो ।