सर्लाहीको बागमती नगरपालिका ७ मा क्रेनकाे ठक्करबाट एक छात्राकाे ज्यान गएकाे छ । बागमती नगरपालिका ७ निमिचाेकमा नम्बर नखुलेकाे क्रेनकाे ठक्करबाट बिहिबार बागमती नगरपालिका ७ कि अन्दाजी १८/१९ वर्षकी सुमित्रा परियारकाे घटनास्थलमै ज्यान गएकाे ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
बिहिबार बिहान करिब ११ बजे बागमती नगरपालिका ८ मा रहेकाे नवजन जागरण माविमा कक्षा ११ मा अध्यायनरत परियारलाई विद्यालय जाँदै गर्दा विपरित दिशाबाट आउदै गरेकाे क्रेनले ठक्कर दिएकाे र उनकाे घटनास्थलमै ज्यान गएकाे ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयाे । उहाँका अनुसार आक्राेसित विद्यार्थीहरुकाे भिडले क्रेनमा आगजनी गर्न खाेज्दा घटनास्थलमा पुगेकाे प्रहरी टाेली र स्थानिय विद्यार्थीहरु विच झपड समेत भएको छ । झडपमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका गरि करिब डेढ दर्जन घाइते भएका छन् भने ६ सेल अश्रुग्यास प्रहार भएको प्रहरीले जनाएको छ । तर पनि आक्राेसित विद्यार्थीहरुकाे भिडले क्रेनमा आगजनी गरेका र आगलागीबाट क्रेनमा पुर्ण रुपमा क्षेती पुगेकाे प्रहरीले जनाएको छ ।
साे क्षेत्रमा अहिले ठुलाे संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी तैनाथ रहेका भएपनि विद्यार्थीहरुले शव उठाउन दिएका छैनन् । बिहिबार बिहान करिब ११ बजे भएको दुर्घटनाकाे शव रातिको १२ बज्नै लाग्दा पनि घटनास्थलमै रहेकाे छ । आफुहरुकाे माग सम्बाेधन नहुदा शव उठाउन नदिएको पीडित पक्षकाे भनाइ छ ।