सर्लाहीको चन्द्रनगर गाउँपालिका ३ र ७ को सिमानामा निर्माणाधिन अवस्थामा रहेको आपतकालिन सहायता केन्द्रको भवन निर्माणकै क्रममा विवाद उत्पन्न भएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरको रु १ करोड ३० लाखको लागतमा निर्माणाधिन अवस्थामा रहेको भवन निर्माण सुरु भएसंगै विवादीत भएको हो ।
चन्द्रनगर गाउँपालिका ३ र ७ को सिमानमा रहेको कलावती बजारमा आपतकालीन सहायता केन्द्रको भवन निर्माणाधिन अवस्थामा छ । चन्द्रनगर गाउँपालिका ३ र ७ र इश्वरपुर नगरपालिका ९ को सिमाना कलावती बजारमा आर्थिक वर्ष ०७७/०७८ मा रु ५० लाख र आर्थिक वर्ष ०७८/०७९ मा रु ८० लाख गरि कुल रु १ करोड ३० लाखमा निर्माणाधिन अवस्थामा रहेको सो भवन निर्माणको क्रममा सडक र स्थानियको नम्बरी जमिनमा निर्माण गरिएको भन्दै विवादीत बनेको हो ।
भवन निर्माण सुरु भएपछि सँधियार जग्गाधनी र स्थानीय वडा कार्यालयले पुनरावेदन अदालत जनकपुरमा मुद्दा दायर गरेका तर पुनरावेदन अदालतको निर्देशन नआएको हुँदा भवन निर्माणका काम निरन्तर भई रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरका प्रमुख विनोद यादवले बताउनु भयो ।
आपत्कालीन सहायता केन्द्रको भवन निर्माण भइरहेको स्थान पूरै सडकमा पर्ने जिल्ला मालपोत कार्यालयले जनाएको छ । स्थानीयको व्यक्तिगत जग्गालाई छेकेर सडकमा भवन निर्माण भएको विषय मालपोत कार्यालयमा समेत जग्गावालाहरु आएका मालपोत कार्यालयका मलंगवाका प्रमुख रामकैलाश महतोले बताउनु भयो । मालपोत कार्यालयको नक्सामा समेत कुनै सार्वजनिक जग्गा नदेखिएको उहाँको भनाई छ ।
आपत्कालीन सहायता केन्द्रको भवन प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवको पहलमा निर्माण सुरु भएको हो । भवन निर्माणका लागि आ.व ०७७/०७८ मा रु ५० लाख बजेट विनियोजन भएको थियो । चालू आ.व ०७८/०७९ मा रु ८० लाख बजेट छुट्याइएको शहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरले जनाएको छ । दुई चरणमा गरि रु १ करोड ३० लाख बजेट सो भवन निर्माणको लागि परेका छ ।
सडकमा बनेको भवनले आफ्नो नम्बरी जग्गा अतिक्रमण गरेको स्थानीय बद्री साहको गुनासो छ । भवन निर्माणपछि सडकमा जोडिएको आफ्नो जग्गा नाप जाँच नगरी भवन निर्माण सुरु गरिएको भन्दै उनले जिल्ला अदालत सर्लाही र पुनरावेदन अदालतमा मुद्धा दायर समेत गरेका छन् । स्थानियले ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाको सिमाना भएर बग्ने खोला मोडेर जग्गा अतिक्रमण गरेको आरोप समेत लगाएका छन् ।
यता,ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाको सिमाना भएर बग्ने खोला मोडेर जग्गा अतिक्रमण गरेको आरोप गलत भएको ईश्वरपुर नगरपालिका ९ वडाध्यक्ष अमिरीलाल साहले बताउनु भयो । उहाँका अनुसार वर्षौँदेखि सो जग्गामा खेती गर्दै आएको रामआधार पण्डित आफैँले खोलाको धार परिवर्तन गरेका हुन ।
त्यसैगरी,भवन निर्माण सम्बन्धमा पुनरावेदन अदालत जनकपुरमा मुद्दा चलिरहेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताउनु भयो । भवन निर्माणको क्रममा गाउँपालिकासंग समन्वय नगर निर्माणको काम सुरु गरीएको हुँदा आफुहरु बाधय भएर सरकारी विकास निर्माणको कामको विरोधमा अदालत जानु परेको गाउँपालिका अध्यक्ष महतोको भनाई छ ।
योजनामा चन्द्रनगर गाउँपालिका ७ उल्लेख भएको र निर्माण गर्ने क्रममा चन्द्रनगर गाउँपालिका ३ मा भवन निर्माण भएको प्रति आफुहरुलाई शंका लागेको गाउँपालिका अध्यक्ष महतोले बताउनु भयो । तर चन्द्रनगर गाउँपालिका ३ र ७ को सिमानामा रहेको बलावती बजारमा भवन निर्माण गर्ने योजनामा रहेको स्थानिय भवन निर्माण पहलकर्ता धर्मेन्द्र यादवले बताउनु् भयो ।