Close This

प्रहरीको फितलो अनुसन्धानबाट डेढवर्षदेखि पीडित बने खड्का, प्रहरी प्रमुख फेरीदा आश पलाएको भनाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-८ गते   १८१९ पटक हेरिएको

प्रहरीको फितलो अनुसन्धानका कारण एक निर्दाेष विगत करिब डेढ वर्षदेखि पीडित भएका छन् । सवारी दुर्घटनामा संलग्न नभए पनि प्रहरीले दुर्घटना मुद्दा लगाए पछि एक निर्दाेष विगत करिब डेढ वर्ष देखि पीडित बनेका हुन ।
लालबन्दी नगरपालिका २ जुट्पानीका थीरबहादुर खड्का प्रहरीको गलत अनुसन्धानका कारण विगत करिब डेढ वर्ष देखि पीडित बनेका हुन । इलाका प्रहरी कार्यालय लालबन्दीका तत्कालीन प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले गलत अनुसन्धान गरि आफुलाई  फसाएको पीडितको गुनासो छ । उनले आफ्नो सवारी साधन दुर्घटनामा संलग्न नरहेको आधार प्रमाण समेत पेस गरिरहँदा पनि प्रहरीले अनुसन्धान नै नगरी एकतर्फीरूपमा आफुलाई फसाएको पीडित खड्काले गुनासो गरेका छन् । सर्लाहीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक तीनलाई परिवर्तन भई सक्दा पनि आफ्नो मुद्धामा चासो नदेखाएका पीडित खड्का परिवारले गुनासो गरेका छन् । ईलाका प्रहरी कार्यालय लालबन्दीमा पनि प्रहरी प्रमुख प्रहरी निरिक्षक सरुवा भएर अर्का प्रहरी निरिक्षक आई सकेका भएपनि आफ्नो मुद्धामा वास्तविक अनुसन्धानमा चासो नगएको खड्काको आरोप छ ।
दुर्घटना गराएको मुख्य ट्याक्टर अर्कै रहेको खुले पनि इलाका प्रहरी कार्यालय लालबन्दीका तत्कालीन प्रहरी प्रमुख प्रहरी निरिक्षक थापाले कुनै सुनुवाइ नै नगरेको खड्काको भनाई छ । ती सवै आधार प्रमाण इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापाको,जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख सन्तोष सिंह राठौर र त्यसपछिका प्रहरी प्रमुख कृष्ण प्रसाईलाई पेश गर्दापनि आफ्नो गुनासो प्रति उहाँहरुलेचासो नदेखाएका खड्का परिवारले गुनासो गरेका छन् ।
‘आफ्नो ट्याक्टर दुर्घटनाको दिन घरबाट ननिस्केको प्रमाण दिँदा पनि प्रहरीले मानेन, अर्को ट्याक्टरले दुर्घटना गराएको खुलिसके पनि प्रहरीले कुनै वास्ता गरेन, मुद्दा अदालतमा गइसकेको भन्दै प्रहरी निरीक्षक थापा र तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक राठौर र त्यसपछिका प्रहरी प्रमुख प्रसाईले कुनै कुरो सुन्न नचाहेको पीडितको गुनासो छ, बास्तविक दुर्घटना गराएको ट्याक्टर पनि नियन्त्रणमा लिन नलिई प्रहरी लाचार बनेको उनिहरुको आरोप छ । ‘प्रहरीले अनुसन्धान गर्न नचाहँदा करिब डेढ वर्षदेखि कानुनी परिवन्धमा परेको छु, नखाएको विष मलाई लागेको छ।’खड्काले बताए ।
२०७७ कात्तिक १० गते नवलपुर मलंगवा सडक खण्डअन्तर्गत लालबन्दी नगरपालिका २ जुट्पानीमा चार जना सवार प्रदेश–२–०३–००६ प ३७७० नम्बरको मोटरसाइकल ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो। त्यसलगतै ट्याक्टर फरार भएको थियो। दुर्घटनामा स्थानीय १८ वर्षीय अंकुश पासवानको मृत्यु भएको थियो भने १८ वर्षीय निसान्त पासवान, २९ वर्षीय अंगद पासवान र २८ वर्षीय रितिक पासवान घाइते भएका थिए।
सवारी दुर्घटना भएकोे दुई दिनपछि स्थानीयले पराल लोड गर्दै गरेको अवस्थामा खड्काको प्रदेश–२–०३–००१ त १२८२ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर बहादुरी देखाएको थियो । तर दुर्घटना गराउने ट्याक्टर अहिले पनि खुलेआम हिडि रहेको पीडित पक्षको गुनासो छ ।
यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेल र ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्की आएपछि आफ्नो मुद्धाको विषयमा निश्पक्ष छानविन हुनेमा खड्का परिवार ढुक्क देखिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech