मधेशको एक्लो वीरगन्ज महानगरपालिका सहित ४९ पालिका अझैँ बजेट विहिन

420 Shares

मधेश प्रदेशको एक मात्रै महानगरपालिका वीरगन्ज महानगरपालिका सहित तीनवटा उपमहानगरपालिका,२३ वटा नगरपालिका र २३ वटा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्।मधेश प्रदेशका तीनवटा उपमहा नगरपालिका मध्य जनकपुर उप महानगरपालिका तथा ७३ वटा नगरपालिका मध्य २३ वटा नगरपालिका र ५९ वटा गाउँपालिका मध्य २३ वटा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरको वेभ साईटमा उल्लेख गरिएको छ ।
मन्त्रालयको वेभ साईटमा उल्लेख भए अनुसार मधेश प्रदेशका एक सय ३६ स्थानीय तहहरु रहेको ८७ वटा मात्रै स्थानीय तहहरुले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन ।नौ वटा गाउँपालिका र नौ वटा नगरपालिका गरी १८ वटा स्थानीय तह रहेको सप्तरीका तीन वटा नगरपालिका र चार वटा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका छैनन्।सप्तरीको डाक्नेश्वरी,राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाका साथै छिन्नमस्ता,तिलाठी कोइलाडी,रुपनी र वलान बिहुल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन ।
नौ वटा गाउँपालिका रआठ वटा नगरपालिका गरी १७ वटा स्थानीय तह रहेको सिरहाको सुखीपुर नगरपालिकाका साथै औरही,लक्ष्मीपुर पतारी र विष्णु गाउँपालिका,छ वटा गाउँपालिका, ११ वटा नगरपालिका र एउटा उप महानगरपालिका गरी १८ वटा स्थानीय तह रहेको धनुषाका जनकपुरउप महानगरपालिका,क्षिरेश्वरनाथ,धनुषाधाम र कमला नगरपालिकाका साथै औरही र जनकनन्दिनी गाउँपालिका,पाँच वटा गाउँपालिका र१० वटा नगरपालिका गरी १५ वटा स्थानीय तह रहेको महोतरीका बर्दिवास र मटिहानी नगरपालिकाका साथै सोनमा गाउँपालिका,नौ वटा गाउँपालिका र ११ वटा नगरपालिका गरी २० वटा पालिका रहेको सर्लाहीका बलरा,बागमती र मलंगवा नगरपालिकाका साथै विष्णु र पर्सा गाउँपालिका,दुई वटा गाउँपालिका र १६ वटा नगरपालिका गरी १८ वटा पालिका रहेको रौतहटका गरुडा,कटहरिया,गढिमाई,गुजरा,देवाही गोनाही,फतुवा विजयपुर,बौधिमाई र मौलापुर नगरपालिकाका साथै यमुनामाई र आदर्श कोतवाल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका मन्त्रालयको वेभ साईटमा उल्लेख गरिएको छ ।
त्यसैगरी नौ वटा गाउँपालिका,पाँच वटा नगरपालिका र दुई वटा उपमहा नगरपालिका गरी १६ वटा पालिका रहेको बाराको सिम्रौनगढ नगरपालिकाका साथै सुवर्णपुर र विश्रामपुर गाउँपालिकाका साथै १० गाउँपालिका,तीनवटा नगरपालिका र एउटा महानगरपालिका गरी १४ वटा पालिका रहेको पर्सामा वीरगन्ज महानगरपालिका सहित पोखरिया र बहुदरमाई नगरपालिकाका साथै धोबीनी,पकाहा मैनपुर,विन्दावासिनी,सखुवा प्रसौनी,ठोरी,कालिकामाई र जिराभवानी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । 
सिरहा,धनुषा,महोतरी,सर्लाही,रौतहट,बारा र पर्सा गरी आठ जिल्ला रहेको मधेश प्रदेशमा सप्तरीमा १८,सिरहामा १७,धनुषामा १८,महोतरीमा १५,सर्लाहीमा २०,रौतहटमा १८,बारामा १६ र पर्सामा १४ पालिका गरी कुल एक सय ३६ पालिका रहेको मधेशका ८७ वटा पालिकाले मात्रै चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवारको वेभसाईटमा उल्लेख गरिएको छ ।यसरी मधेश प्रदेशका आठ जिल्लामा बजेट नल्याउने  सबै भन्दा कम पालिका महोतरीमा तीन वटा छन् भने पर्सा र रौतहटमा बजेट नल्याउने  सबैभन्दा धेरै १०/१० पालिका रहेका छन् ।
जनप्रतिनिधिहरुको आन्तरीक विवादका साथै कतिपय पालिकाहरुका जनप्रतिनिधिहरु भ्रष्टाचार सम्बन्धी मुद्धा अख्तियारमा परेपछि निलम्बन हुँदा निर्धारित समयमा चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम पारित गर्ने नसकेको पाइएको छ ।
कानुनी व्यावस्था  के छ ?
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) र (५) स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।त्यसरी बजेट पारित हुन नसकेका स्थानीय तहले साउन १ बाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन अर्थात् बजेट होलिडे हुन्छ,तर,यो कानूनी व्यवस्था विपरीत मधेशका १९ पालिकाहरुले बजेट नै ल्याउन सकेका छैनन् ।बजेट पारित नगरी गरेको खर्च अनियमितता गरेको ठहरिने कानुनी व्यवस्था छ ।
“कानुनी रुपमा असार मसान्तसम्म बजेट नल्याउने स्थानीय तहले साउन १ गतेबाट खाता बन्द नै गर्नुपर्ने र त्यसो नभए सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृत,आर्थिक प्रशासन विभाग प्रमुख र खाता सञ्चालन गर्न दिने कोष लेखा नियन्त्रण कार्यालयको प्रमुखलाई कारबाही हुने कानुनी व्यावस्था छ ।”
स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ६९ अनुसार “स्थानीय सञ्चित कोषबाट मात्रै रकम खर्च गर्नुपर्दछ।उक्त कोषको रकम खर्च गर्न स्थानीय तहको सभाले पास गरेको वार्षिक कार्यक्रम (बजेट) अन्तर्गत मात्रै गर्नुपर्दछ।सो दफा अनुसार स्थानीय तहको सभाले बजेट पास नगरी आर्थिक वर्षको कुनै पनि खर्च गर्न पाइँदैन ।”साथै बजेट ल्याएका स्थानीय तहहरुले मन्त्रालयमा अद्यावधिक गराउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।
बजेट ल्याउन नसक्नुको कारण के ?
जनप्रतिनिधिबीच सरकारको स्रोत कसले बढी दुरुपयोग गर्ने भन्ने विषयमा कुरा नमिल्दा समयमा बजेट आउन नसकेको जानकारहरु बताउँछन्।स्थानीय तहका प्रमुख,उपप्रमुख तथा वडाअध्यक्षहरु निर्वाचित हुँदा नै करोडौं रुपैयाँ खर्च गर्ने र बजेटलाई त्यो रकम अशुल गर्ने माध्यम बनाउँदा यस्तो भएको जानकारहरुको भनाइ छ।“स्थानीय तहहरुले बजेट बनाउने क्रममा मेरै वडामा यति देऊ,अर्को वडामा यति देऊ भनेर माग्छन्,त्यही विषयमा उनीहरुबीच कुरा मिल्दैन र स्थानीय तहको सभा नै बस्न सक्दैन।सभा बस्न नसकेपछि बजेट ल्याउन सकिन्न।”उनीहरुको भनाई छ ।
“राज्यको स्रोत दुरुपयोग गर्ने विषयमा आफ्नै पार्टीका प्रतिनिधिहरुबीच पनि कुरा मल्दैन । यस्तो वित्तीय अराजकता स्थानीय तहमा छ।एउटै पार्टीको बहुमत भएका स्थानीय तहले पनि बजेट ल्याउन नसकेका पाइएको जानकारहरुको भनाई छ।कतिपय स्थानीय तहमा कर्मचारीको पनि अभााव,प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी उपसचिवको हुने भएपनि खरिदारले करोडौं रकम चलाइरहेका लगायतका कारण पनि निर्धारित समयमा बजेट आउन नसकेको जानकारहरुको आंकलन छ।कर्मचारीहरुमा पनि काम गर्ने भन्दा पनि केही वर्षमै करोडपति भइहाल्ने मानसिकता रहने गरेका कारणपनि समस्या भएको केही जनप्रतिनिधिहरु नै बताउँछन् ।
“राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय अनुशासन कायम नगर्ने स्थानीय तहको बजेट कटौती गर्न सक्छ,त्यसमार्फत दण्डित नगर्ने हो भने यो प्रवृत्तिमा सुधार नहुने”राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।भने कतिपय पालिकाहरुले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका भएपनि मन्त्रालयलाई जानकारी नगराएका र कतिपय स्थानीय तहहरुले वार्षिक बजेट,नीति तथा कार्यक्रम नल्याएपनि आफ्नो स्थानीय तहको वेभसाईट मन्त्रालयको वेभ साईटमा हालेका मन्त्रालय स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार