सर्लाहीमा गर्मी सँगै चुनावी सरगर्मी बढेको छ । जिल्लामा विभिन्न पार्टीका नेताहरु आफ्नो तिर मत ल्याउन जनतासंग भेटघाट तथा घरदौलो अभियान लिएर नागरिकहरुका घरघरमा पुगेका छन् । जिल्लामा आगामी बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको चहलपहल बढेको छ ।
निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उम्मेदवारको टुंगो लगाएका राजनीतिक दलहरुले आफ्नो पक्षमा मत तान्न गाउ गाउँतथा घरघरमा पुगी चुनावको प्रचार प्रसार गरेका छन् । मतदाता रिझाउनका लागि दलका नेताहरु गाउ गाउ,घरघरमा पुग्ने होडबाजी चलेको छ ।
मुख्य प्रतिस्पर्धीको रुपमा रहेका नेपाली कांग्रेस,एमाले र नेकपा(माओवादी केन्द्र)ले चुनावी अभियानलाई तीव्रता दिएका हुन् । यसका साथै नेकपा(एकीकृत समाजवादी),जनता समाजबादी पार्टी,लोकतान्त्रीक समाजवादी पार्टी,बहुजन एकता पार्टी,नेपाल पनि स्थानीय तहहरुमा चुनावी अभियान शुरु गरेका छन् ।
केन्द्र र प्रदेश सरकारमा गठबन्धनमा रहेका दलहरु पनि जिल्लामा भने एक्ला एक्लै उम्मेदवारी दिएर चुनावी प्रचार प्रसारमा लागेका छन् । नेपाली कांग्रेसले केद्रीय कार्यक्रम अनुसार घरघर जाऔं, कांग्रेस जिताऔ भन्ने अभियान सञ्चालन गरिरहेको छ । कांग्रेसले पालिका स्तरको अभियान सकेर अहिले वडा तहमा अभियान सञ्चालन गरिरहेको छ । कांग्रेसले निर्वाचन केन्द्रित भएर गाउँ गाउँमा चुनावी अभियान सञ्चालन गरिरहेको छ ।
स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियानमा अरु राजनैतिक दलहरुपनि त्यतिकै सक्रिय रहेका छन् । देशका ठूला परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको र अब विकासको श्रृखंला पनि नेपाली कांग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले बताउनु भयो ।
नेकपा )एमाले)ले पनि निर्वाचन केन्द्रित भएर प्रचार प्रसारमा जुटिसकेको छ । गाउँ गाउँमा संगठन विस्तार गर्नुका साथै चुनावी अभियानलाई तीव्रता दिएको छ । एमाले स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अघि बढेको छ, जनमत आफ्नो पक्षमा नै आउँने नेकपा(एमले) सर्लाहीका अध्यक्ष राज नारायण साहले बताउनु भयो ।
यसैगरी नेकपा(माओवादी केन्द्र)ले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ । माओवादी केन्द्र कै अभियानमा संघियता,जनपक्षिय संविधान आएको नागरिकहरुका हकअधिकारको लागि लड्ने एकमात्र पार्टी माओवादी केन्द्र रहेको बताउँदै आफुहरु चुनावी मैदानमा होमीएको माओवादी केन्द जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीले बताउनु भयो । माओबादी केन्द्रले बोकेको एजेण्डामा देश चलिरहेका कारण आफ्नो नेतृत्व नहुँदा परिवर्तन संस्थागत हुन नसक्ने संयोजक बुढाथोकीले बताउनु भयो ।
माओवादी केन्द्रका मधेश प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी लालबन्दी नगरपालिकाको नगर प्रमुख पदमा उठेका छन् भने माओवादी केन्द जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकी हरिवन नगरपालिकाको नगर प्रमुख पदमा उठेका छन् भने नेकपा(एमाले)का पुर्व जिल्ला अध्यक्ष मनोज कुमार देवकोटा इश्वरपुर नगर प्रमुख पदमा उठेका छन् ।