चन्द्रनगरका अध्यक्ष महतोले गरे आफ्नै छोराको दाइजोमुक्त विवाह

803 Shares

मधेश क्षेत्रमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाह जस्ता सामाजिक कुरीति विरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएका चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आफ्नै घरबाट व्यवहारिक उदाहरण प्रस्तुत गरेका छन् ।उनले छोरा आदित्य महतोको विवाहको निमन्त्रणा कार्डमै “दाइजो मुक्त विवाह,बाल विवाह मुक्त विवाह”जस्ता स्लोगन उल्लेख गरी सामाजिक सन्देश प्रवाह गरिएको छ।कार्डमार्फत नै दाइजो प्रथा विरुद्धको स्पष्ट अडान सार्वजनिक गरिएकाले यस कदमलाई थप अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपालको तराई–मधेश क्षेत्रमा दाइजो प्रथा सामाजिक प्रतिष्ठासँग जोडिएको मानिने भएकाले यसको विरोध गर्नु मात्र नभई आफ्नै परिवारमा लागू गर्नु निकै चुनौतीपूर्ण मानिन्छ। सामाजिक दबाव,परम्परागत सोच,नातागोताका अपेक्षा र आलोचना बीच अध्यक्ष महतोले दाइजो नलिने निर्णय गरेर“पहिले आफू परिवर्तन,त्यसपछि समाज परिवर्तन”भन्ने सन्देश व्यवहारमै उतारेका छन् ।
सामाजिक सञ्जालमार्फत दाइजोमुक्त विवाहको स्लोगन अंकित निमन्त्रणा कार्ड सार्वजनिक गर्दै आफूले अभियान आफ्नै घरबाट सुरु गरेको अध्यक्ष महतोले बताए।बाल विवाह र दाइजो प्रथा विरुद्ध अभियान चलाउँदा आम नागरिकले“नेतृत्वले आफैं व्यवहारमा लागू गर्छ कि गर्दैन” भन्ने सन्देह व्यक्त गर्ने गरेको उल्लेख गर्दै उनले आज आफ्नै एकमात्र छोराको दाइजो नलिई विवाहमा गरेर सामाजिक परिवर्तनका लागि स्पष्ट सन्देश दिएको बताए ।
अध्यक्ष महतो“बाल विवाह तथा दाइजो उन्मूलन राष्ट्रिय अभियान,नेपाल”का राष्ट्रिय अभियन्ताका रूपमा दाइजो तथा बालविवाह उन्मूलनका लागि सक्रिय रहँदै आएका अध्यक्ष महत्तोले मधेश केन्द्रित जनचेतनामूलक सभा,अन्तरक्रिया तथा विद्यालय–कलेजमा सचेतना कार्यक्रम सञ्चालन गर्दै दाइजो नलिने–नदिने संस्कार विकास गर्न पहल गरेका छन् ।
विवाहमा अनावश्यक तडक–भडक कम गर्ने,दाइजो प्रथा विरुद्ध सार्वजनिक प्रतिबद्धता अभियान चलाउने,युवालाई शपथ अभियान मार्फत सहभागी गराउने तथा स्थानीय तहमा दाइजोमुक्त विवाहलाई प्रोत्साहन गर्ने नीति निर्माणमा उनको सक्रियता उल्लेखनीय छ।महिला अधिकार कर्मी,सामाजिक अभियन्ता र धार्मिक अगुवासँग सहकार्य गर्दै सामूहिक जागरण कार्यक्रम पनि सञ्चालन गरिएको छ।
स्थानीयवासी,युवा तथा सामाजिक अभियन्ताहरूले अध्यक्ष महतोको यस कदमलाई मधेशमा दाइजो प्रथा अन्त्यतर्फको प्रेरणादायी पहलका रूपमा लिएका छन्।नेतृत्व तहबाट देखिएको यस्तो निर्णयले समाजमा सकारात्मक बहस र परिवर्तनको वातावरण सिर्जना गरेको जनाइएको छ।विवाह कार्डमै स्लोगन राखेर जनचेतना फैलाउने प्रयासले अन्य परिवारलाई पनि सोच परिवर्तन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष महतोको यो पहल केवल व्यक्तिगत निर्णय मात्र नभई दाइजो मुक्त,बाल विवाहमुक्त र समानतामूलक समाज निर्माण तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।सामाजिक सुधारका अभियान व्यवहारमा उतारिँदा मात्र दीर्घकालीन परिवर्तन सम्भव हुने सन्देश उनको कदमले दिएको छ।मधेशकै पछाडि परेका दलित मुसहर समुदायको उत्थानका लागि “भोर” संस्था मार्फत अभियान चलाएर चर्चामा आएका उनले स्थानीय तह निर्वाचन २०७९ मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
निर्वाचित भए लगत्तै उनले बाल विवाह अन्त्य गर्न ठोस निर्णय गर्दै प्लस टु उत्तीर्ण गरी २० वर्षपछि विवाह गर्ने छोरीलाई रु ५० हजार प्रोत्साहन दिने कार्यक्रम लागू गरे ।यस अभियानले हजारौँ छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रेरित गर्नुका साथै बालविवाह रोक्न महत्वपूर्ण योगदान पु¥याएको छ।समाजमा व्याप्त कुरीति विरुद्ध नेतृत्वले देखाएको यस्तो उदाहरणले आगामी दिनमा दाइजो प्रथा न्यूनीकरण र सामाजिक सचेतना अभिवृद्धिमा थप बल पुग्ने विश्वास लिइएको छ।

सम्बन्धित समाचार