Close This

सर्लाहीका २० मध्य १६ स्थानिय निकायमा पूरानै उम्मेद्वारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१६ गते   १७९२ पटक हेरिएको

सर्लाहीका २० वटा स्थानीय निकायहरु मध्ये १६ वटा स्थानीय निकायहरुमा पूरानै प्रमुखले पुनःसोही पदमा उम्मेद्वारी दर्ता गराएका छन् । लालबन्दी नगरपालिका र हरिपूर्वा नगरपालिका तथा पर्सा गाउँपालिका र रामनगर गाउँपालिका बाहेक अन्य स्थानिय निकायमा पुरानै प्रमुखले पुनः टिकट लिएर उम्मेद्वारी दर्ता गराएका हुन् ।

नेकपा(एमाले)बाट ईश्वरपुर नगरपालिकामा मनोजकुमार देवकोटा र हरिवन नगरपालिकामा गणेश प्रसाद प्रसाईंले नगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । भने बागमती नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का भरत कुमार थापाले दोहोर्याएर उम्मेद्वारी दिनु भएको हो । कविलासी नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित हुनु भएका नगरप्रमुख कौशल किशोर रायले एमालेमा प्रवेश गरि एमालेबाट फेरी नगर प्रमुख पदको उम्मेद्वारी दिनु भएको छ ।

मलंगवा नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख निरसल साह जनता समाजवादी पार्टीमा प्रवेश गरि सोही पार्टीबाट उम्मेद्वारी दिनु भएको छ । कांग्रेसले नगर प्रमुखमा नागेन्द्र रायलाई उठाएपछि निवर्तमान नगर प्रमुख साह अर्काे पार्टीमा गई पुनः नगरप्रमुखमा उम्मेदवारी दिनु भएको हो ।

त्यसैगरी बलरा नगरपालिकामा गत निर्वाचनमा राजपाबाट विजयी हुनु भएका नगर प्रमुख अभय कुमार सिंहले लोसपाबाट र गोडैता नगरपालिकामा गत निर्वाचनमा राजपाबाट विजयी हुनु भएका देवेन्द्र कुमार रायले लोसपाबाट, बरहथवा नगरपालिकामा (माओवादी केन्द्र)का देवानन्द महतो, हरिपुर नगरपालिकामा तत्कालिन एमालेबाट निर्वाचित नगरप्रमुख जमिरुद्धिन मन्सुरले यो पटक नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यस्तै, जिल्लाको चन्द्रनगर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महेन्द्र महतो, धनकौल गाउँपालिकामा नेपाली कांग्रेसबाट रामआश्रय साह, ब्रम्हपुरी गाउँपालिकामा तत्कालिन राजपाबाट निर्वाचित विनोद कुमार साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट, चक्रघट्टा गाउँपालिकामा माओवादी केन्द्रबाट विक्रम यादव, बसबरिया गाउँपालिकामा नेपाली कांग्रेसका रामअयोध्या राय र विष्णु गाउँपालिकामा कांग्रेसकै जवाहारलाल रायले पुनः सोही पदमा उम्मेद्वारी दिनु भएको हो । भने लालबन्दी नगरपालिका, हरिपूर्वा नगरपालिका, पर्सा गाउँपालिका र रामनगर गाउँपालिकामा चुनाव जितेका दलहरुले प्रमुखमा यो पटक नयाँ अनुहार अघि सारेका छन् ।

२०७४ सालमा एमालेले जितेको लालबन्दीमा यो पटक गोविन्द महत, कांग्रेसले जितेको हरिपूर्वामा विनोद कुमार साह, कांग्रेसले नै जितेको रामनगरमा हरिनन्दन यादव र तत्कालिन मधेसी जनअधिकार फोरमले जितेको पर्सामा अहिलेको जनता समाजवादी पार्टीले दिनेश रायलाई टिकट दिएको छ । हरिपुरमा एमालेबाट विजयी हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुद्दिन मन्सुर एकीकृत समाजवादीमा गएपछि एमालेले यादव सरकारलाई नगरप्रमुखको उम्मेद्वार बनाएको हो ।

लालबन्दीका मानबहादुर खड्का, हरिपूर्वाका सियाराम राय र पर्साका किसुनदेव रायलाई पार्टीले यो पटक टिकट दिएन् । रामनगरका निर्वाचित गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको भने केही महिनाअघि निधन भइसकेको छ । यस्तै, दलहरुले केही पालिकामा उपप्रमुखहरुलाई पनि दोहोर्याएका छन् भने अधिकांश ठाउँमा नयाँ अनुहारलाई अघि सारेका छन् ।

केन्द्रमा चुनावी तालमेलको कुरा उठेको भएपनि सर्लाहीका २० वटै स्थानिय निकायमा तालमेल नगरि दलहरु चुनावमा होमिएका छन् । देशभरमै सबैभन्दा धेरै २० स्थानीय निकाय रहेको सर्लाहीमा कांग्रेस,एमाले,माओवादी केन्द्र,जसपा,लोसपा,राप्रपा,जनमत पार्टी,बहुजन एकता पार्टी लगायतका पार्टीगत र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । भने जिल्लाका २ सय वटा वडाहरु मध्य आधा भन्दा बढी वडाहरुमा पनि उम्मेदवारी दोहोरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech