बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनमा सर्लाहीको ५ वटा स्थानिय निकायका लागि मतपत्र पुनः छाप्नुपर्ने भएको छ । जिल्लाको दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच वटा स्थानिय निकायका लागि मतपत्र पुनः छाप्नुपर्ने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको बरहथवा नगरपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका, चक्रघट्टा गाउँपालिका र ब्रम्हपुरी गाउँपालिकाको मतपत्र दोहोर्याएर छाप्नुपर्ने भएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले जानकारी दिनु भयो । उहाँका अनुसार स्थानिय निकायमा जिल्लाका लागि छापिएको मतपत्रमा स्वतन्त्र उम्मेदवारहरुका लागि व्यवस्था गरिएको ९ वटा चुनाव चिन्ह भन्दा बढी उम्मेदवारी परेपछि मतपत्र फेरि छाप्नुपर्ने अवस्था आएको हो ।
निर्वाचन आयोगले जिल्लाका लागि ४४ लहरको मतपत्र छापि सकेको थियो । जसमा राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित ३६ वटा दलको क्रमैसँग र त्यसपछि ९ वटा स्वतन्त्र उम्मेदवारका लागि प्रदान गरिने चुनाव चिन्ह व्यालेटमा उल्लेख गरिएको छ ।
बरहथवा र बलरा नगरपालिकाका साथै चक्रघट्टा,रामनगर र ब्रम्हपुरी गाउँपालिकामा ९ जना भन्दा बढीको स्वतन्त्रमा उम्मेदवारी परेपछि स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह थपेर पुनः मतपत्र छाप्नु पर्ने भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख दिवाकर भुजेलले जानकारी दिनु भयो । ती स्थानिय निकायमा परेका स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले तय गरेको चुनाव चिन्ह प्रदान गरिसकिएको र अब निर्वाचन निर्देशिका अनुसार क्रमैसँग थप स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह छापिएर आउने कार्यालय प्रमुख भुजेलले बताउनु भयो ।
जिल्लाका बाँकी १५ वटा स्थानिय निकायमा भने ४४ लहरकै मतपत छापिएर आउने भएको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय मलंगवाका साथै जिल्लाका २० वटै स्थानिय निकायमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिसकेका मुख्य निर्वाचन अधिकृत पियाले जानकारी दिनु भयो ।
जिल्लामा रहेका स्थानिय निकायका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्दा सम्म जिल्लाको अवस्था शान्तीपुर्ण रहेको र निर्वाचनलाई शान्तीपुर्ण बनाउन सबैशक्ति लगाउने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनु भयो ।