Close This

प्रधानमन्त्री देउवाका कारण एआईजीद्वय पाेख्रेल र थापा अन्यायमा

पत्र पत्रिका    प्रकाशित: २०७९-१-१८ गते   १५७९ पटक हेरिएको

सरकारले वरियतमक्रम मिचेर धीरजप्रताप सिंहलाई नेपाल प्रहरीकाे महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने तयारीमा लागेका हुन् । त्यसका लागि उनीहरूले छलफल थालेका छन् ।
पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि मात्रै सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।
गृह मन्त्रालयले समेत पाेख्रेललाई पहिलो नम्बरमा राखेर आईजीपी बढुवाका लागि सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सिंहलाई आईजीपी बनाइएको हो ।
आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच मतभेद थियो । गृहमन्त्री खाँण पोखरेललाई नै आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए । देउवाले सिंहलाई नै आईजीपी बनाउने बताएका थिए । आईजीपी नियुक्तिको विवाद पाँचदलीय गठबन्धनको बैठकमा समेत पुगेको थियो । जहाँ शीर्ष नेताहरू पनि विभाजित देखिएका थिए ।
प्रधानमन्त्रीको प्रस्तावमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड)सहमत देखिएका थिए । गृहमन्त्रीको प्रस्तावमा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहमत थिए । आईजीपी नियुक्तिको विषयमा नेताहरूबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा आफ्नै अडानअनुसार अघि बढेका हुन् ।
 तर प्रधानमन्त्री देउवाकाे अडानका कारण आईजीद्वय पाेख्रेल र थापा माथि ठुलाे अन्याय भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech