निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरुले मान्न जरुरी नरहेको नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले बताउनु भयाे । विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले निर्वाचन आयाेगले जारी गरेकाे आचारसंहिता पत्रकारले मान्न जरुरी नरहेको बताउनु भयाे । उहाँले निर्वाचन आयोगले बनाएको आचारसंहितामा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाइएको समेत बताउनु भयाे।
राज्यले प्रविधिलाई मात्रै हेरेर कानूनहरु बनाउँदा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गरेको उल्लेख गर्दै उहाँले आयोगको आचारसंहिता पत्रकारहरुले मान्न जरुरी नरहेको बताउनु भएको हाे । उहाँले पत्रकारहरुको आफ्नै आचारसंहिता रहेको पनि बताउनु भयाे । प्रविधिलाई मात्रै हेरेर राज्यले कानूनहरु बनाउँदै गर्दा त्यसले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गर्दोरहेछ भन्ने अनुभुति हामीलाई भएको र भर्खरै निर्वाचन आयोगले बनाएकाे आचारसंहिता पनि त्यस्तै रहेकाे उहाँको भनाइ छ, त्यसलाई हेर्ने हो भने प्रविधिसँग तर्सिदै गर्दा, प्रविधि सँग डराउँदै गर्दा नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई पनि संकुचन हुने ढंगका प्रावधानहरु त्यहाँ राखेको छ । तर हामीले भन्यौँ निर्वाचन आयोगको जुन आचारसंहिता छ, त्यसलाई हामीले आचारसंहिताको रुपमा मान्नु जरुरी छैन । हाम्रो आफ्नै आचारसंहिता छ । त्यो त हामीसँग गरिएको अपेक्षा मात्रै हो ’ उहाँले बताउनु भयाे ।
अध्यक्ष पोखरेललले राज्यले सधैँभरी प्रेसलाई नियन्त्रण गर्ने मनशाय राखेको बताउनु भयाे । उहाँले पत्रकारितालाई श्रमको दृष्टिले पनि सबल र समुन्नत बनाउनुपर्नेमा जोड दिनुभयाे ।
त्यसैगरी नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्माले पत्रकारहरु आफ्नो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विषयमा सचेत हुन जरुरी रहेको बताउनु भयाे । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टले तिनै तहको सरकारले बनाउने कानूनहरुमा प्रेस स्वतन्त्रता संकुचन गर्ने विषय प्राथमिकतामा परिरहेको बताउनु भयाे । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले प्रेस स्वतन्त्रता केवल पत्रकारको विषय मात्रै नभई आम जनताको विषय भएको बताउनुभयाे। प्रेस स्वतन्त्रता नहुँदा जनता सुसुचित हुन नपाउने उहाँको भनाई छ । प्रेस स्वतन्त्रताको आन्दोलन आम जनताको आन्दोलन हो भन्नेकुराको सचेतना जगाउनुपर्ने उहाँले बताउनु भयाे ।