महोतरीको एकडारा गाउँपालिका ५ मा दुई दिने प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ। एकडारा गाउँपालिका ५ स्थित विपन्न दलित तथा मुस्लिम बस्तीमा बागमती सेवा समाज नेपाल सर्लाही र आड्रा नेपालको सहयोगमा एकडारा गाउँपालिकाको आयोजनामा बुधबार र बिहीबार गरि दुई दिन सञ्चालन भएको प्रजनन् स्वास्थ्य शिविरमा चार सय २४ जनाले लाभ लिएका बागमती सेवा समाज नेपाल सर्लाहीका कार्यवाहक कार्यकारी निर्देशक सुनिल कुमार साहले जानकारी दिए ।
उनका अनुसार चार सय २४ जनाको परिक्षण गर्दा दुई सय ८० जनाको पाठेघरको जाँच,५४ जनामा पाठेघरको समस्या देखा परेको,११ जनाको सल्यक्रिया गर्नु पर्ने देखिएको, एक सय आठ जनालाई प्रजनन् स्वास्थ्य परामर्श,१० जना लैङ्गिक हिंसा,एक सय आठ जनालाई परियोर योजना सम्बन्धी परामर्श र ३६ जनाको गर्भ तथा सुत्केरी जाँच गरिएको हो । प्रजनन् स्वास्थ्य शिविरमा एकडारा गाउँपालिकाका विभिन्न वडाका साथै मनराशिस्वा नगरपालिका,महोतरी गाउँपालिका र जलेश्वर नगरपालिकाका गरी चार सय २४ जनाले लाभ लिएका आयोजकले जनाएको छ ।
“स्वास्थ जीवनका लागि स्वास्थ सुरुवात”भन्दै पाठेघर खसेका महिला किशोरीहरुको जाँच,उपचार तथा परामर्श,पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण,गर्भवती र सुत्केरी जाँच,परिवार नियोजन सम्बन्धि सेवा र मनोविमर्श सेवा सहित प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिएको निकै प्रभावकारी भएको एकडारा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख महेन्द्र मण्डलले बताए ।
मधेश प्रदेशमा विकराल स्वासथय समस्याको रुपमा रहेको महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या एउटा ठूलो चुनौतीको रुपमा रहेको साथै“गाउँ गाउँको सिंहदरबार”स्थानीय तथा प्रदेश सरकारले ध्यान पुर्याउन नसकेका दैनिक जनजीविकाका सवालमा सुरुवात देखिनै उद्धहरणीय काम गर्दै आएको भन्दै एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले बताए ।
मधेश प्रदेशका आठवटा र कोसी प्रदेशका पाँच वटा गरी १३ वटा जिल्लामा स्वास्थ्य तथा जीविको पार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गरि रहेको बागमती सेवा समाज नेपाल सर्लाहीले स्थानीय तथा प्रदेश सरकारसंग मिलेर जीविको पार्जनका साथै स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।