९ मत हराए पछि लालबन्दीमा निर्वाचन अधिकृत विरुद्ध एमाले सडकमा,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-३ गते   २३३२ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताद्वारा पूर्व–पश्चिम लाेकमार्गमा चक्काजाम गरेका छन्।  लालबन्दी नगरपालिका ८, मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् ।

लालबन्दी नगरपालिका ८ स्थित आधारभूत विद्यालय खतिवडा चोकमा रहेको मतदान केन्द्रमा मतदान सम्पन्न हुँदा १ हजार ४ सय २७ मत खसेको भनी मुचुल्का उठाइएको भएपनि मतगणना गर्दा १ हजार ४ सय १८ वटा मतपत्र मात्रै भेटिएको थियाे । ९ वटा मत गायब भएपछि एमालेका कार्यकर्ताहरु राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै चक्काजाममा उत्रिएका हुन् । उनिहरुले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन् । लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएराती नै लालबन्दी नगरपालिका ८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेका थिए ।पाख्रिन ४ सय ६० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
यता,एमालेका उम्मेदवार सुवास पाख्रिनले ४ सय ४४ मत ल्याएका छन् । अध्यक्षमा निर्वाचित शुक्रबहादुर  र निकटतम प्रतिस्पर्धी  सुवासबीचको मतान्तर १६ मात्रै रहेकाे छ । लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएको भन्दा ९ मत कम देखिएको स्वीकार गर्नुभएको छ । उहाँले यसबारेमा निर्वाचन आयोगमा लेखेर पठाउने तयारी गरिरहेको बताउनुभयो ।
 ९ मत कम भेटिँदा समेत निर्वाचन अधिकृतको कार्यालयले गएराती मध्यरातमै मतगणना सकेर वडाध्यक्षसहित वडा सदस्यहरुको मतपरिणाम सार्वजनिक गरिसकेको छ । सो वडामा वडाध्यक्षमा माओवादीले १६ मतले जित निकालेको भएपनि चारै जना वडा सदस्यहरु भने एमालेबाट चयन भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech