Close This

नेपाल तेस्रो अध्यक्ष र गौतमलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

पत्र पत्रिका    प्रकाशित: २०७७-१-१८ गते   २७५ पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई पद त्याग्न दबाब दिइरहेका नेताहरुसमक्ष तेस्रो विकल्पका लागि नयाँ प्रस्ताव पेश गरेका छन् ।पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ल्याइएको प्रस्तावमा माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भन्ने छ ।

त्यसका लागि कोरोनाको वर्तमान संकट सकिनुपर्ने शर्त उनले राखेका छन् । पार्टी सचिवालयको बुधबार बसेको बैठकमा चौथो वरियताका नेता नेपाललाई अध्यक्ष बनाउन तयार रहेको ओलीले बताएका हुन् ।गौतमलाई प्रधानमन्त्री बनाउनका लागि संविधानसम्म पनि संशोधन गर्न आफू तयार भएको उनले बताएका थिए । त्यसका लागि गौतमलाई राष्ट्रिय सभामा लैजाने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्न आफू तयार भएको बताएको स्रोतको दावी छ ।

त्यस गर्न नसकिए कुनै क्षेत्र खाली गराएर त्यहाँ निर्वाचन लडाएर भए पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले राखेको बताइएको छ ।पूर्वएमाले एकै ठाउँमा रहनुपर्ने भन्दै ओली पक्षीय नेताहरुले नेपाल र गौतमलाई यसअघि पनि यो विकल्पमा जान सकिने सुझाएका थिए । तर ओलीको यस प्रस्तावलाई अरु नेताले खासै महत्व नदिएको दावी गरिएको छ ।

ओलीको प्रस्तावले समाधान दिन गाह्रो हुने बुझाई अरु नेताको छ । गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव संविधान संशोधनसँग सम्बन्धित रहेको र आफूसँग दुई तिहाई नभएको अवस्थामा यो सम्भव नभएको नेताहरुको भनाइ थियो । तेस्रो अध्यक्षमा नेपाललाई ल्याउँदा वरियतामा माथि रहेका अर्का नेता झलनाथ खनाललाई मनाउनुपर्ने देखिन्छ ।इमेजखबर

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech