कांस्कीको पोखरामा भएको केपी ओली कप टी ट्वान्टी कप क्रिकेटको उपाधि मधेस प्रदेशले जितेको छ ।पोखरामा आज(शुक्रबार) भएको फाइनल खेलमा मधेस प्रदेशले फाइनलमा आर्मीलाई १० रनले हराउँदै उपाधि उचालेको हो ।
बलियो विभागीय टोली आर्मीलाई हराउँदै मधेस प्रदेशले उपाधि जित्दै घरेलु क्रिकेटमा विभागीय टोलीको दबदबामा ब्रेक लगाइदिएको हो । मधेस प्रदेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन मात्र बनाएको थियो ।विवेक यादव र सोमपाल कामी क्रिजमा रहे पनि अन्तिम ओभरमा चाहिएको २२ रन बनाउन नसक्दा आर्मी पराजित हुन पुगेको हो ।विवेक २५ र सोमपाल १६ रनमा नट आउट रहे भने भीम सार्कीले ३२ र विनोद भण्डारीले २२ रन बनाए ।मधेस प्रदेशका हरिशंकर साहले ४ र प्रदीप पासवानले २ विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरेको मधेस प्रदेशले विशाल पटेलको अविजित ४९ रनको सहयोगमा ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । आर्मीका साहब आलम र विवेक यादवले ३/३ विकेट लिए ।मंसिर ७ गतेबाट सुरु भएको प्रतियोगीताको विजेता बनेको मधेश प्रदेशले रु ५ लाख पुरस्कार पाएको छ ।