सर्लाहीको २० मध्य १२ स्थानिय निकायमा कांग्रेसका उम्मेदवार निर्वाचित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-६ गते   २६२६ पटक हेरिएको

 सर्लाहीको ईश्वरपुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । नगर प्रमुखमा ८ हजार ४ सय ८० मत सहित कांग्रेसका मनोज कुमार आचार्य  निर्वाचित हुनु भएको छ । उहाँका  निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगर प्रमुख नेकपा एमालेका मनोज कुमार देवकोटाले ५ हजार ९ सय ६० मत ल्याउनु भयो ।
त्यस्तै उपप्रमुखमा कांग्रेसकी रञ्जिता देवी चौधरी निर्वाचित हुनु भएको छ  । उहाँले ८ हजार २ सय ६८ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपप्रमुख एमालेकी एकावती देवी चौधरीलाई पराजीत गर्नुभयो । एकावतीले ६ हजार ३ सय ५३ मत ल्याउनु भएको थियो ।
ईश्वरपुरसहित कांग्रेसले सर्लाहीका १२ स्थानिय निकायमा आफ्नो जित निकालेको छ । देशभरकै सबै भन्दा धेरै २० स्थानिय निकाय रहेकोे सर्लाहीमा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । त्यस मध्य बरहथवा नगरपालिकाको मात्र अन्तिम मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
कबिलासीमा पनि नेपाली कांग्रेसबाट प्रमुख ब्रम्हदेव राय र उपप्रमुखमा पुनम कर्णले जित निकाल्नु भएको छ । भने बरहथवामा नेकपा(एमाले)की कल्पना कटुवालले अग्रता लिइ रहनु भएको छ । बैशाख ३० गते आन्तरीक विवादका कारण बरहथवा नगरपालिका १७ मा मतदान हुन नसकेपछि जेठ ३ गते मतदान भएको थियो । जसका कारण बरहथवाको मतगणना पछि सुरु भएको थियो ।  बरहथवा नगरपालिकामा निवर्तमान नगर प्रमुख देवानन्द महतो र एमालेकी कटुवाल विच कडा प्रतिस्पर्धा रहेको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech