सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुख उप प्रमुख दुवै जना नेकपा(एमाले)ले जितेको छ ।
एमालेको तर्फबाट बरहथवा नगरपालिकाको नगर प्रमुख पदमा कल्पना कटुवाल विजयी हुनु भएको छ । कटुवालकोे जितसँगै जिल्लामा एमाले पार्टीले एक स्थानमा प्रमुख र उपप्रमुख पाएको हो ।
जिल्लाको पहिलो महिला नगर प्रमुखमा निर्वाचित कटुवालले १२ हजार २ सय ७३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार एवम निवर्तमान नगर प्रमुख देवानन्द महतोलले ६ हजार ६ सय ६६ मत पाउनु भएको छ । निवर्तमान नगर प्रमुख महतोलाई ५ हजार ६ सय ७ मतान्तरले हराउँदै जिल्लाका २० स्थानिय निकाय मध्य एकमात्र स्थानिय निकायमा जित निकालेर कटुवालले एमाले सर्लाहीको शाख जोगाउनु भएको छ । स्थानिय निकायको निर्वाचित २०७४ मा जिल्लाका धेरै स्थानिय निकायमा जित निकालेको एमालेले अहिले १ स्थानमा मात्र जित निकाल्न सफल भएको छ ।
नगर उप प्रमुखमा पनि नेकपा(एमाले)का उम्मेदवार रामबाबु प्रसाद साह विजयी भएका छन् । साहले ९ हजार ९ सय १ मत ल्याएर जित निकालेका हुन । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहाललाई २ हजार ७ सय ८४ मतान्तरले पराजित गरेका हुन । निकट्तम प्रतिस्पर्धी दाहालले ७ हजार १ सय १९ मत ल्याएकी थिइन ।
यस्तै बरहथवा नगरपालिकाको वडाध्यक्ष पदमा एमालेका ७ जना, नेपाली कांग्रेसका ६ जना, जनता समाजवादीका २ जना र माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी, बहुजन एकता पार्टी नेपाल एक÷एक जना विजयी भएका छन् ।
२० स्थानिय निकाय रहेको जिल्लामा नेपाली कांग्रेसले १२, माओवादी केन्द्र ४ र जनता समाजवादी २ पालिकामा र लोकतान्त्रिक समाजवादी र नेकपा एमाले एक÷एक पालिकामा विजयी भएका छन् ।