सर्लाहीका २० वटै स्थानिय निकायका जनप्रतिनिधिहरुद्धारा शपथ र पदभार ग्रहण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-११ गते   १२२२ पटक हेरिएको

सर्लाहीका २० वटै स्थानिय निकायका प्रमुख तथा अध्यक्षहरुले आ–आफ्नो पालिकाका उप प्रमुख तथा उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । देश भरमै सबै भन्दा धेरै २० स्थानिय निकाय रहेको सर्लाहीका प्रमुख र अध्यक्षहरुलाई सोमबार मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश ध्रुवकुमार पियाले शपथ ग्रहण गराउनु भएको थियो ।
उहाँहरुले आफ्नो स्थानिय निकायका निर्वाचित नगर उप प्रमुख,उपा अध्यक्ष एवम वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई बुधबार शपथ ग्रहण गराउनु भएको हो  । जिल्लाको लालबन्दी नगरपालिका,हरिपुर नगरपालिका,ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाले सोमबार नै आफ्नो स्थानिय निकायका उप प्रमुख,वडा अध्यक्ष एवम वडा सदस्यहरुलाई सपथ ग्रहण गराएको थियो भने बुधबार बागमती नगरपालिका, बरहथवा नगरपालिका, मलंगवा नगरपालिका, हरिवन नगरपालिका, विष्णु गाउँपालिका, ब्रम्हपुरी गाउँपालिका, पर्सा गाउँपालिकालगायतका स्थानिय निकायहरुका निर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण तथा पदभार ग्रहण गराइएको हो ।
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले उप प्रमुख हरिमाया घलानसहित ११ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको छ । बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले उप प्रमुख लीलाकुमारी मोक्तान सहित १२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको हो । बरहथवा नगरपालिकामा जिल्लामै एकमात्रै महिला नगर प्रमुखको रुपमा निर्वाचित कल्पना कुमारी कटुवालले उप प्रमुख रामबाबुप्रसाद साहसहित १८ वटै वडाका वडाध्यक्षहरु र वडा सदस्यहरुलार्ई शपथ ग्रहण गराई पदभार ग्रहण गराउनु भएको छ ।
यस्तै, बलरा नगरपालिकामा नगर प्रमुख रामाशंकरप्रसाद कुशवाहाले उप प्रमुख कोशिला देवीसहित सबै वडाअध्यक्ष र वडासदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको छ । मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्रप्रसाद यादवले उप प्रमुख शकुन्तला देवी साहसहित वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको छ ।
यसैगरी,ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साह, पर्सा गाउँपालिकाका अध्यक्ष धीरेन्द्र राय, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय, बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय र धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले आ–आफ्नो स्थानिय निकायका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech