दुर्गा कुमारी अधिकारी
हरिवन नगरपालिका ११ स्थित चापीनी नदी बगरमा बनाउने भनिएको औद्योगिक ग्राम राजनितीक खिचातानीका कारण अलपत्र परेको छ । निवर्तमान नगर प्रमुख गणेश प्रसाईंले नगर क्षेत्रमा औद्योगिक क्षेत्र प्रवद्र्धन गर्न औद्योगिक ग्राम बनाउन लागिएको भन्दै सिलान्यास गर्नु भएको भएपनि अहिले सो औद्योगिक ग्राम राजनितीक खिचातानीका कारण अलपत्र परेको हो ।

सरकारको ‘एक स्थानीय तह,एक औद्योगिक ग्राम’ नीति अनुसार स्थानीय रोजगारी सिर्जना तथा आन्तरिक आयस्रोत समेत बृद्धि गर्ने भन्दै औद्योगिक ग्रामको सिलान्यास गरिएको भएपनि अहिले हरिवन नगरपालिकाले चासो नदेखाउँदा निर्माण कार्य अलपत्र परेको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले बताए । उनका अनुसार सङ्घीय सरकारले आर्थिक वर्ष ०७७÷०७८ रु एक करोड रकम समेत बिनियोजन गरेको थियो ।
सो रकमबाट आर्थिक वर्ष ०७७÷०७८ मै जग्गा व्यवस्थापन,पर्खाल लगाउने र खोला नियन्त्रणको काम सकिएको नगरपालिकाका इञ्जिनियर जकी अहमद सिद्दकीले बताए । उनका अनुसार सो जमिनमा स्थानीय उत्पादनमुखी र स्थानीयलाई रोजगारी सिर्जना हुने खालका व्यापार व्यावसाय गर्न जमिनलाई नगरपालिकाले भाडामा लगाउने भनिएको भएपनि अहिले सो कार्य भएको छैन ।
हरिवनमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई आफ्नो व्यवसाय सञ्चालन गर्न सो औद्योगिक ग्राममा सहज हुने अनुमान गरिएको थियो । करिब आठ बिघा क्षेत्रफलमा स्थापना हुने भनिएको औद्योगिक ग्रामले आर्थिक विकासमा मद्दत पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।
एउटै छानामुनि विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन गर्नभन्दै सिलान्यास गरिएको औद्योगिक ग्राम राजनितीक चपेटामा पर्दा निर्माण नभई अलपत्र परेको स्थानीय चुडामणी वाग्लेले बताए ।उनका अनुसार स्थानीयलाई आफ्नो उत्पादन कहाँ बिक्री वितरण गर्ने भन्ने र बजार नपाउने चिन्ता हट्नुको साथै किनमेल गर्न धेरैतिर धाउनुपर्ने बाध्यता हट्ने नगरपालिकाले बताएको भएपनि निर्माणमा चासो दिएको छैन् ।
नदीले कटान गरेको जमिनको सदुपयोग गर्दा कृषियोग्य तथा वनको जमिन सुरक्षित रहने मात्र नभई कलकारखानाको स्थापनाले बेरोजगारीको समस्या समेत हल हुने भन्दै आफुले औद्योगिक ग्रामको सिलान्यास गरेको निवर्तमान नगर प्रमुख प्रसाईले बताए । उनका अनुसार मधेश प्रदेश कै नमूना औद्योगिक ग्राम बनाउने योजना रहेको थियो । यता,नेपाल सरकारले देशको अर्थतन्त्रको समस्यालाई मध्य नजर गर्दै २० प्रतिशत रकम कटौती गरेका कारण आफुहरुले सोचे जती काम गर्न सक्ने अवस्था नरहेको नगर प्रमुख रमेश बुढाथोकीले बताए ।उनले आफ्नो कार्यकाल भरीमा हरिवनमा औद्योगिक ग्राम स्थापना गराएरै छाड्ने प्रतिवद्धता जनाए ।