कविलासी नगरपालिकाको नगर प्रमुख तथा उप प्रमुखमा नेपाली कांग्रेसका ब्रम्हदेव राय र पुनम कर्ण निर्वाचित हुनु भएको छ । तत्कालीन राजपाबाट जित निकाली यसपटकको चुनावमा एमालेबाट उम्मेदवार बनेका निवर्तमान मेयर कौशलकिशोर यादव तथा जसपाका उम्मेदवार बनेकी निवर्तमान उप प्रमुख राधादेवीलाई हराउँदै कांग्रेसले जित निकालेको हो ।
नेपाली कांग्रेसको तर्फबाट कविलासी नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार रायले ६ हजार ४ सय ४४ मतसहित निर्वाचित हुँदा उहाँका निकट्तम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेश रायले ४ हजार ६ सय ६३ मत ल्याउनु भयो । नेकपा एमालेबाट उम्मेदवार बनेका निवर्तमान नगर प्रमुख कौशलकिशोर यादवले ३ हजार ५ सय १८ मत मात्र प्राप्त गर्नुभयो ।
यस्तै, उप प्रमुखमा कांग्रेसकै पुनम कर्ण ६ हजार ९ सय ७ मत ल्याई विजयी हुँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी जसपाकी उम्मेदवार तथा निवर्तमान उप प्रमुख राधादेवी ४ हजार ९ सय १६ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भयो ।
१० वडा रहेको कविलासी नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका दिपलाल राय यादब ६ सय ३७ मत, वडा नम्बर २ मा नेकपा(एकिकृत समाजवादी)का राम पुकार मण्डल ५ सय १ मत, वडा नम्बर ३ मा नेकपा एमालेका राम विश्वास राय ५ सय ४८ मत, वडा नम्बर ४ मा जसपाका गिरधारी राय १ हजार २ सय ८ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका सुरेन्द्र राय ६ सय १८ मत, वडा नम्बर ६ नेपाली कांग्रेसका पुरुषोतम राय ७ सय ४५ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका धरवेन्द्र राय यादव ६ सय ९० मत, वडा नम्बर ८ मा नेपाली कांग्रेसका विरेन्द्र प्रसाद साह १ हजार १ सय ६५ मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका रामदिनेश राय ५ सय ९६ मत र वडा नम्बर १० मा जसपाका संजय महतो ६ सय २५ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भयो ।