१७ जिल्ला छुने हुलाकी सडक निर्माणका लागि ६ अर्ब भन्दा बढी रकम विनियोजन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१५ गते   १८१६ पटक हेरिएको

तराईका १७ जिल्लालाई छुने हुलाकी सडक निर्माणका लागि नेपाल सरकारले रु ६ अर्ब ७ करोड विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी सडक मार्गका लागि रु ६ अर्ब ७ करोड बजेट विनियोजन गरेको हो । 
आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)ले यो वर्ष हुलाकी सडक मार्गका लागि सो बजेट विनियोजन गर्नु भएकोे हो । आगामी वर्ष हुलाकी सडक मार्गको करिब ३ सय किलोमिटर कालोपत्रे गर्ने र २४ वटा पुल निर्माण गर्ने लक्ष्यका साथ नेपाल सरकारले रु ६ अर्ब ७ करोड विनियोजन गरेको हो ।
३० वर्ष अघिबाट सडक निर्माणको काम सुरु गरिएको र यो रकमले ३ सय किलो मिटर सडक कालोपत्रे गर्ने र ६७ वटा पुल निर्माण सुरु गर्न यो रकम उपयोग हुने अर्थ मन्त्रालयले जनाएको छ । 
३० वर्ष पहिलाबाट निर्माण सुरु गरिएको हुलाकी सडक अझै निर्माणाधिन अवस्थामा रहेको छ । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा यो सडक मार्ग निर्माण गर्ने घोषणा गर्नु भएको थियो । त्यसको १४ वर्षपछि २०६१ सालमा दुई देशबीच निर्माणका लागि औपचारिक सम्झौता भएर सडक मार्ग निर्माणको  काम सुरु भएको थियो ।
पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व–पश्चिम महेन्द्र लोकमार्ग हुँदै हुलाकी सडक मार्गमा जोड्ने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ । यो १ हजार ७ सय ९२ दशमलव २५ किलोमिटर लामो हुलाकी सडक मार्गको निर्माण कार्यजारी रहेको छ ।
हुलाकी सडक मार्ग पूर्व–पश्चिम खण्ड ९ सय ७५ किलोमिटरको छ भने महेन्द्र लोकमार्गसँग जोड्ने सहायक खण्ड र सडकहरु ८ सय १७ किलोमिटरका छन् । यो राजमार्गको प्रथम चरण अन्तरगतका १७ सडकमध्ये १० वटा खण्ड अन्र्तगत २ सय १८ किलोमिटरमा भारत सरकारले काम गरिरहेको छ । यो  सडक मार्गको धेरै खण्डहरु वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्म हुने गरेका छन् ।जसका कारण अलपत्र सडक आसपासका जनतालाई सास्ती हुनुको साथै सो सडक मार्ग भएर आवत–जावत गर्दा ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यता रहेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech