एक महिना मै करिब रु १९ करोडको तरकारी निकासी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२० गते   २२३० पटक हेरिएको

सर्लाहीको लालबन्दीबाट मात्रै एक महिनामा करिब रु १९ करोडको तरकारी निकासी भएको छ । जिल्लाको लालबन्दी नगरपालिका ७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दी मार्फत सञ्चालित तरकारी बजारबाट १ महिनामा रु १९ करोडको तरकारी निकासी भएको हो ।
बैशाख महिनामा मात्र रु १८ करोड ९९ लाख ४० हजार ६ सय ३० को तरकारी निकासी भएको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीका व्यावस्थापक शम्भु प्रसाद घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार बैशाखमा निकासी भएको तरकारी मध्य सबै भन्दा धेरै गोलभेँडा निकासी भएको हो ।
बैशाख महिनामा गोलभेँडा मात्रै रु ९ करोड ४७ लाख ४३ हजारको निकासी भएको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ । त्यसपछि बोडी निकासी भएको हो । बोडी रु १ करोड ९४ लाख ७९ हजारको निकासी भएको छ ।
लालबन्दी,ईश्वरपुर,हरिवन नगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाबाट कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीद्धारासञ्चालीत तरकारी बजारमा तरकारीहरु आउने गरेका छन् ।
गोलभेँडा,टमाटर,पर्वल,सिमी,भिण्डी, काउली, बन्दा, भाण्टा, घिराँैला, झिम्नी, लौका, फर्सी, मुन्गा,करेला र मूलालगायत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको तरकारी बजारले जनाएको छ । जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाका स्थानीयवासीले करीब १ हजार बिघाभन्दा बढी क्षेत्रमा उत्पादन गरेको तरकारी लालबन्दी आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरण बहादुर मगरले बताउनु भयो ।
जिल्लाका स्थानीय किसानहरुले व्यावसायिक रुपमा उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा, बुटबल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, रामेछाप, सिन्धुली, सुनसरी र विराटनगरका साथै छिमेकी देश भारतका विभिन्न स्थानमा समेत जाने÷गरेको अध्यक्ष मगरको भनाई छ ।
तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका जिल्लाका किसानहरुले करिब १ हजार बिघाभन्दा बढी जमीनमा तरकारी खेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सर्लाहीका कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहले बताउनु भयो ।
विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँका साथै खाडी मुलुकमा मजदूरीका लागि जाने किसान अहिले तरकारी खेतीमा किसानहरु रमाई रहेका छन् ।भने तरकारी खेतीले किसानहरुको जीवनस्तरमा निकै परिवर्तन ल्याएको छ ।
जिल्लाका गाउँ गाउँमा सडक विस्तार भएपछि व्यापारीहरु तरकारी बारी मै पुगेर  तरकारी खरीद गर्ने गरेका किसान रामपुकार महतोले बताउनु भयो । तरकारी उत्पादनबाट गाउँमा बर्सेनि ४/५ करोड रुपैयाँ भित्रिने गरेको भए पनि भण्डारणको व्यवस्था नहुँदा समस्या भएको लालबन्दीका किसानहरुको गुनासो छ ।गाउँका सबैजसोले तरकारी उत्पादन गर्ने गरेका र  यहाँ उत्पादन भएको तरकारी जैविक तरकारी भएकाले देशका ठूला शहरमा समेत जाने गरेको कृषि विज्ञहरुको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech